रामजानकी विवाह महोत्सवः मैथिली परम्परा अनुसार स्वयंवर सम्पन्न - pharaksandesh.com

मुख्य समाचार


Sunday, 20 December 2020

रामजानकी विवाह महोत्सवः मैथिली परम्परा अनुसार स्वयंवर सम्पन्न


काठमाडाैँ, ५ पुस :
राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलाले फेरा लगाएर प्रतिकात्मक रामजानकीको स्वयंवर गरिएको हो । राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको झाँकी कीर्तन, बाजागाजासहित निस्केको डोला बाह्रबिघा मैदानमा पुगेपछि डोला फेरा गरी स्वयंवर हुने गर्दछ ।

स्वयंवरमा साधुसन्तसहित सांस्कृतिक झाँकी प्रदर्शन भएको थियाे । कोरानाकाबीच पनि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको स्वयंवरमा सहभागिता थियो । बाह्रबिघामा स्वयंवरपश्चात् निस्केको दुवै डोला जनकपुर नगरको परिक्रमा गरी जानकी मन्दिर पुगेको थियाे ।

साँझदेखि जानकी मन्दिर प्राङ्गणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको मैथिली परम्परानुसार विवाहको कार्यक्रम सुरु भएकाे थियाे । त्यहाँ हजारौँ श्रद्धालु रातभर जाग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् । यस अवसरमा श्रद्धालु भक्तजन महिलापुरुषले नाचगान भजन कीर्तन गरी रातभर रमाइलो गर्ने गर्दछन् । 

यसरी मनाइन्छ विवाहपञ्चमी महोत्सव
राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि राम जानकी विवाहपञ्चमी मेला लाग्ने गर्दछ । 

सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथनन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्गशुक्ल पञ्चमी तिथिमा श्रीरामजानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख छ ।

विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको यस ठाउँमा विवाहपञ्चमीका दिन जनकपुरधाममा राम मन्दिरबाट जन्तीसहित रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा र लावालस्करसहित जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । 

हजारौँ वर्षपूर्व त्रेतायुगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू समुदायको आस्था र विश्वासको केन्द्रका जनकपुरधाममा देहका विभिन्न ठाउँलगायत छिमेकी देश भारतबाट आएका लाखौँ श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् । 

वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा बारातीलाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत एवं अभिवादन गर्ने परम्परा छ । 

यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ ।

यसैगरी पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयंवर पूरा हुन्छ । 

त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्याएर आरतीपूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसैरात मिथिला परम्परानुसार प्रतीकात्मक भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.