लापरवाही गर्ने वायुसेवा निगमका कर्मचारीलाई कारबाही - pharaksandesh.com

मुख्य समाचार


Tuesday 5 January 2021

लापरवाही गर्ने वायुसेवा निगमका कर्मचारीलाई कारबाही


काठमाडाैँ, २१ पुस :
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारबाही गरेको छ । निगमको मलेशियाकाे स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडाैँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो

गएकाे डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडाैँ आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पीसीआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेपछि विमानस्थलमा हल्लाखल्ला मच्चिएको थियो ।

निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए । ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वरेन्टीनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो । यस घटनामा निगमको मलेशिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नआएपछि उनीहरुलाई फिर्ता बोलाउनुका साथै होटल क्वरेन्टीनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारबाही गरेको हो ।

निगमको आन्तरिक तथा बाह्य स्टेशनका लागि खट्ने जनशक्तिको व्यवस्था गर्न गठित पोष्टिङ कमिटीले स्पष्टीकरण सोधेको थियो । यो कमिटी महाप्रबन्धकको संयोजकत्वमा मानव संशाधन विभागका उपनिर्देशक, अर्थ विभागका निर्देशकसहित छ सदस्यीय स्थायी प्रकृतिको हुन्छ ।

कमिटीको पुस १७ को बैठकले कोभिड पोजेटिभ भएका यात्रु आउनुमा निगमका स्टेशनमा खटिएका कर्मचारीको गम्भीर लापरवाही देखिएको भन्दै यसले निगमको साख मात्र नभएर देशकै प्रतिष्ठासँग जोडिएकाले कारबाही गर्नुपरेको निगमले उल्लेख गरेको छ ।

यात्रुको खर्च तीन जनाले बेहोर्नुपरे पनि आर्थिक म्यानेजर थापालाई भने फिर्ता बोलाइएको छैन । बाँकी दुई जनालाई नेपाल बोलाइएको छ । मलेशियाको क्वालालम्पुर एयरपोर्टमा निगमको ग्राउण्ड ह्याण्डलिङ एजेन्ट (जीएचए) लाई पनि स्पष्टीकरण सोधिएको निगमले जनाएको छ ।

सुरुमा जीएचएलाई क्षतिपूर्ति तिराउने र त्यो नभए कर्मचारीबाटै अशुलउपर गर्ने निर्णय भएको निगम व्यवस्थापनले जनाएको छ । ती यात्रुलाई काठमाडाैँका दुई होटलमा राखिएको छ । पीसीआर परीक्षण र होटलमा बसेर खाएको खर्च बेहोर्नु पर्नेछ ।

याे घटना निगमको उडान इतिहासमा पहिलो भएको र सुशासन प्रवद्र्धनका लागि पहिलोपटक स्टेशनका कर्मचारीलाई कारबाही गर्नुपरेको पनि निगमले जनाएको छ । यसअघि निगमभित्र विभिन्न विषयमा कर्मचारीले गल्ती गरे पनि समिति बनाएर छुट दिने गरिएकामा यसपटक भने कारबाही गरेर आउँदाे दिनमा अन्य कर्मचारीबाट पनि गल्ती नहोस् भन्ने उदाहरणीय कार्य व्यवस्थापनले गरेको निगमको दाबी छ ।

तीन महिनाअघि निगमको महाप्रबन्धकको रुपमा जिम्मेवारी सम्हाल्नुभएका डिमप्रकाश पौडेलले संस्थाभित्र सुशासन प्रवर्द्धन र आर्थिक मितव्ययी अपनाउन आफू कडारुपमा प्रस्तुत हुने बताउनुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.