सविता बस्नेत
प्रत्येक पाइलामा छुट्टै राज्य चाहियो रे
जन्ती र मलामी हुनु पर्ने छिमेकी
आज बैरी रे
घरका दाजुभाइ मारामार गर्छन्
यसरी हुंदैन अब
हात मुख जोड्ने माड जुटाउन तिर लागौ कि ?
पल्लो घरको ब्वांसोलाई कांडेतार हाल्न तिर लागौं
भाइ फुटे गवांर लुटे
आउ अब
सबै औंला कसेर मुठी बनाउँ
सन्ततिले खेल्ने आगन फराकिलो बनाउँ
कटेरा कटेरी जोडी, एउटै पक्की घर बनाउँ
रंगीविरंगी फूलको माला अझै कसिलो बनाउँ
कित्ता-कित्तामा चिरिएको आमाको छाती
एकताको मलहम लगाउं
अनि पो हांस्छिन् हाम्री प्यारी आमा
मेरा सपना पूरा गर्न,
घरको जग हाल्नमै कतिले बलि दिनु पर्ला
पाली र छाना छाउन कतिले हड्डी खियाउनु पर्ला
कसैले माटो मुच्छलान्, अर्कोले गारो लगाउलान्
हाम्रा युवा बन्ने छन् घरको थाम र नाल
मुगलान पसेका पनि
पालीमा डाडा-भाटा लगाउन आउनेछन्
जन्मेको होला अर्को पृथ्वीपुत्र
जसलाई सधैं एकताको सुर्ता होला
लामो पर्खाई छ हामीलाई उसको
सानो टुकडीको शुरूवात
भाइ भारदारको होस्टेमा
स्वाभिमानी जनताले एक एक ढुङ्गा थप्नेछन्
मनमा अठोट बोकेर आऊ,
बिसे नगर्चि, कालू पाण्डे,
आफ्नो आफ्नो सीप र जाँगर लिएर
बोकेको छु तिम्रो अंश मेरो रगतमा अलिकति
गोरखा दरबारको ठुलो ढुङ्गामा बसेर
आखाले भ्याए सम्म वरिपरि हेरेकी छु
तिमीले जस्तै
पुर्व टिस्टा पश्चिम काँगडासम्म बगेकी छु
हराएका केही जमिन, बगेका सपुतका रगतहरू
निशब्द हेरिरहेको छु,
अझै विश्व शान्ति र भाइचारा बचाउंछु भनि
सोचे जस्तो त कहाँ छ र,
दुई ढुङ्गा बिचको तरुल न हो
फैलिन कहाँ सजिलो थियो र
तैपनि कहिले पराधिन भएन,
आमाको ईज्जतमा आचँ आएन
तर बिडम्बना,
आज टुक्राउन चाहन्छन् रे
फेरि बाइसे चौबिसेमा नै विश्वास छ सायद,
आमाको छातिमा परेड खेल्न जन्मेकाहरू
एकजुट हुनु नै साम्राज्यवादी बुझ्नेहरू
बस्तिमा आगो लगाएर, खरानी बेच्नेहरु
होसियार, अब तिम्रा दिन सकिए,
नसोच हामीले इतिहास बिर्सियौ,
कथालेख्ने जनता जिउदै छन,
गर्विलो सेनाले अझै बाटो कुरेको छ,
जुन दिन उठ्नेछन, सखारैमा
तिम्रो सपना, आफ्नो बनाउनेछन्
र टुक्रिएका मनहरु जोड्दै
विशाल नेपाल बनाउने छन्
जय पृथिवी, जय जनता!!!
No comments:
Post a Comment