सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ : राष्ट्रपति - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 27 January 2021

सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ : राष्ट्रपति


काठमाडाैँ, १४ माघ :
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहि सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ विरुद्धको खोप शुभारम्भका अवसरमा बुधबार सन्देश दिँदै राष्ट्रपतिले उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गर्नुभएको छ । 

खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उहाँले विश्‍वका सबै देशमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको जनाउनुभएको छ । 

‘कोभिड–१९ को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भइ उत्पादनसमेत हुन थालेको छ । यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्चार भएको छ’, सन्देशमा भनिएको छ । 

भारतले अनुदानमा उपलब्ध गराएको दश लाख डोज खोपको अभियान बुधबारदेखि सुरु भएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.