पाल्पाको भैरवनाथ मन्दिर जिर्णोद्दारको काम शुरु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 5 January 2021

पाल्पाको भैरवनाथ मन्दिर जिर्णोद्दारको काम शुरु


पाल्पा, २१ पुस :
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं.४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु गरिएको छ ।

आज मन्दिरमा तान्त्रिक विधिमार्फत क्षमा पुजा गरी मूल गजुरलाई हटाएर पुन:निर्माणको काम सुरु गरिएको हो ।

पुरातत्व विभागको मापदण्ड अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय २८ रुपैँयाको लागतमा मन्दिर पुन: निर्माणको ठेक्का सम्झौता भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

आगामी बैशाख मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको भएपनि पुननिर्माणको समयमा दर्शनार्थीका लागि वैकल्पिक तरिकामार्फत दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

करिब ५ शताब्दी पुरानो मन्दिर मणिमुकुन्द सेन प्रथमले वि.स.१५८० देखि निर्माण सुरु गरी १६१० मा निर्माण सम्पन्न गरेका थिए । धार्मिक र ऐतिहासिक महत्व बोकेको भैरवनाथको दर्शनका लागि देशका विभिन्न जिल्लासँगै भारतबाटसमेत बाक्लो रुपमा भक्तजनको उपस्थिति हुने गर्दछ ।

भैरवनाथलाई मनोकांक्षा पुरा भएपछि भाकल अनुसार चामलको पिठो र घ्यूबाट बनेका माना पाथीका रोटसँगै त्रिशुल,ध्वजा र बली पनि दिने चलन रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.