प्राधिकरण नै भन्छ– ‘जुम्लामा दैनिक साढे ७ घण्टा मात्रै बिजुली दिन सकिन्छ’ - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 January 2021

प्राधिकरण नै भन्छ– ‘जुम्लामा दैनिक साढे ७ घण्टा मात्रै बिजुली दिन सकिन्छ’


काठमाडाैँ, ५ माघ :
नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक साढे सात घण्टासम्म मात्रै बिजुली दिन सकिने प्रस्ट पारेको छ । जुम्लामा लोडशेडिङ भएको खबर सार्वजनिक भएपछि नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको जनाएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको दाबी गरेको हो । प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको हो । 

प्राधिकरणले ११०/११० किलोवाट जडित क्षमता भएका दुई वटा युनिट रहेको लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ ।

हिउँदमा खोलामा पानी घट्ने भएकाले अहिले आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ । विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाइ उपभोक्ताले दैनिकरूपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । 

‘प्राधिकरणले जुम्लामा लोडशेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरूपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुसी भएको जानकारी पाएका छौँ’, उहाँले भन्नुभयो । 

बेलुुकी ६ बजेपछि विद्युत् गृह सञ्चालन गरि राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशका कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत् पुर्‍याउन दैलेखबाट कालीकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.