‘सिरिन्ज आक्रमण’ गरेको पुष्टि नभएपछि पाठक थुनामुक्त - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

‘सिरिन्ज आक्रमण’ गरेको पुष्टि नभएपछि पाठक थुनामुक्त

काठमाडौँ, २४ असार : सार्वजनिक बसमा युवतीमाथि सिरिन्ज (सुई) घोपेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् ।

बसमा यात्रा गरिरहेका बेला एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण गरेको आरोप लगाएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक पक्राउ परेका थिए ।

काभ्रेको धुलिखेलमा उपचाररत भनिएका दाईलाई भेट्न काठमाडौंबाट धुलिखेल जाने गाडीमा चढेका पाठकलाई सोही बसमा यात्रारत एक १९ वर्षीया किशोरीले आफूमाथि सुई घोपेको आरोप लगाएकी थिइन् ।

युवतीको आरोपपछि बसमा यात्रारत यात्रु र स्थानीयले पाठकलाई कुटपिट गरेका थिए । स्थानीयको घेरामा रहेका पाठकलाई प्रहरीले काभ्रेको बनेपाबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा युवतीमाथि पाठकले नै सिरिन्ज आक्रमण गरेको पुष्टि हुने कुनै प्रमाण फेला नपरेपछि उनलाई हिरासत मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

सिरिन्ज आक्रमणमा परेकी भनिएकी किशोरीलाई भने चेकजाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र पठाइएको र रिपोर्ट आएपछि मात्रै थप कारबाही अगाडि बढाइने एसपी सापकोटाले जानकारी दिनुभयो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.