ताराखोलामा मनाइयो ‘असारे मेला’ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

ताराखोलामा मनाइयो ‘असारे मेला’

–रामबहादुर थापा 
बागलुङ, १ साउन : एक साता चलेको ‘असारे मेला’ मङ्गलबार सकियो । झरीको पर्वाह नगरी गाउँले मेलामा रमाए । विधिपूर्वक प्रकृति र देउता पूजे । ताराखोलामा बस्ने तारामी मगरले ‘असारे मेला’ लाई आफ्नो मौलिक संस्कृति मान्छन् ।

मेलालाई ‘असारे बस्ने’ पनि भनिन्छ । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षात्मा बाढीपहिरोजस्ता प्रकोप नहोउन्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै गाउँलेले पूजाआजा गर्छन् । झण्डै ३०० वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले मेलाको प्रचलन बसालेका थिए । मेला वर्षेनी असार तेस्रो सातापछि शुरु हुन्छ । पहिले असारको तेस्रो मङ्गलबारसम्म खेतीपातीको काम सकेर चार दिन अनिवार्य विश्राम लिने चलन थियो ।

सोही बेलादेखि आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ शुरु भएको मगर अगुवा बताउँछन् । तारागाउँमा रहेको थानमा पूजाआजापछि ताराखोला गाउँपालिका– ५ स्थित करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकूदको आयोजना गरिन्छ ।

मेलालाई खेतीपातीपछि विश्राम लिने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमा समेत लिइन्छ । पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । स्थानीय असारे युवा क्लबले ऐतिहासिक असारे मेलाको परम्परा धान्दै आएको छ ।

“पुरानो पुस्ताले जोगाएको संस्कृति संरक्षण गर्नु हाम्रो कर्तव्य हो”, क्लबका अध्यक्ष प्रकाश रोकाले भन्नुभयो, “मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” विगतमा मगर समुदायमा मात्र सीमित असारे मेला पछिल्लो समय सबै वर्ग र समुदायको साझा बन्दै गएको छ । 

मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । दोहोरी गीत, भलिबल, रस्साकस्सी, धनुष बाणलगायतका प्रतियोगिता चल्छन् । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गरिन्छ । धार्मिक आस्था, मान्यता र परम्परा नमेटिने गरी मेलालाई नयाँपन दिन थालिएको हो । 

मेलाको अर्को विशेषता असारे झरी पनि हो । मेला चलिरहँदा वर्षेनी झरी परेकै हुन्छ । वर्षात्का बेला भए पनि मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् ।

ताराखोला गाउँपालिका वडा नंं २ अर्गलका गोविन्दबहादुर घर्तीले गाउँपालिकाका अर्गल, हिल, अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको बताउनुहुन्छ । “यहाँ मगर आएपछि मेला शुरु भएको इतिहास छ”, उहाँले भन्नुभयो, “समयअघिपछि भए पनि गाउँपालिकाका विभिन्न ठाउँमा मेला आयोजना हुन्छ ।”

ताराखोलाका मगर समुदायले राघे, माघेसङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई विशेषरुपमा मान्छन् । साउने सङ्क्रान्तिमा चेलीबेटी बोलाउने, टिकाटाला गर्ने पनि चलन छ । मगर समुदायमा आधारित भुस पोल्ने र सिस्नो खोस्ने नाच पनि ताराखोलाका ऐतिहासिक संस्कृति हुन् ।

पुरानो संस्कृतिलाई नयाँपुस्तामा हस्तान्तरण गर्न प्रशिक्षणलगायतका योजना ल्याइने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “कला, संस्कृतिको संरक्षण हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “यथोचित बजेट, कार्यक्रम बनाउँछौँ ।” गाउँपालिकाले ‘बहुसांस्कृतिक सङ्ग्रहालय’ निर्माणको योजना पनि अघि सारेको छ । कला, संस्कृति, रहनसहन, मनोरम भूगोल, स्थानीय उत्पादन लगायतले चिनिएको ताराखोला गाउँपालिकाले विसं २०७७ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.