परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २३ असार :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीमाथि छानबिन हुँदा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सहायक पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले रकम दिई नतिजा फेरबदल पारेको पाइएको छ ।

परीक्षा नियन्त्रक कार्यालय मानविकी सङ्कायतर्फको एमए गोप्य शाखा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई रु एक लाख ५० हजार लिई सुरेन्द्रप्रसाद कोइरालाको स्तातकोत्तर अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले बढी प्राप्ताङ्क हुने गरी अनुचित ढङ्गले अङ्क थपेको पाइएको छ । 

यस्तै कर्माचार्यलाई नै सोही प्रक्रियाबाट ग्रामीण विकास र मानवशास्त्र विषयमा समेत परीक्षामा नै अनुपस्थित भए पनि उत्र्तीण गराएको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार पदको दुरुपयोग गरी १५ वटा विषयमा ३ देखि ५० नम्बरसम्म थप गरी कूल २२४ अङ्क थप गर्न सुरेन्द्रप्रसाद कोइरालाबाट रु एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको अर्थशास्त्र विषयको स्नातकोत्तरतर्फको पाँच विषयमा १०÷१० नम्बरका दरले ५० अङ्क थप गर्न कोइरालामार्फत रु तीन लाख गरी जम्मा रु चार लाख ५० हजार भ्रष्टाचार गरेको पाइएको छ । 

आयोगले बानेश्वर बहुमुखी क्याम्पसमा कार्यरत कामु प्रशासनिक अधिकृत केदार भट्टराई, अङ्क थप गराउने रामबहादुर कर्माचार्य र सुरेन्द्रप्रसाद कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

यस्तै आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलास शाखामा कार्यरत शान्तिदेवी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी ज्यान मुद्दाको बाल मनोविज्ञान प्रतिवेदन सरल रुपमा तयार पारिदिने उद्देश्यले रु १० हजार घूस मागेको अभियोग लागेको छ । आयोगले अधिकारीविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरेको छ ।

त्यस्तै आयोगले भोजपुर हतुवागढी गाउँपालिकाका कार्यालयमा कार्यरत इञ्जिनीयर मिछुहाङ्ग किरातविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माण र स्तरोन्नति र पोखरी निर्माण कार्यको मूल्याङ्कनको बिल बनाइदिने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ५० हजार घूस लिएको आरोप लागेको छ । आयोगले आरोपी इञ्जिनीयरविरुद्ध बिगोबमोजिमको माग दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.