बेलायतमा लकडाउन तीन हप्ता थपियो - pharaksandesh.com

मुख्य समाचार


Friday, 17 April 2020

बेलायतमा लकडाउन तीन हप्ता थपियो

लन्डन, ५ वैशाख : बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । 

प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गर्नु भएको हो । 

उहाँले भन्नुभयो, “आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले तत्काल लकडाउन हटाउँदा जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई नोक्सान पु–याउने सुझाव दिएको छ । यसैले कम्तिमा अर्को तीन सातासम्म हालको व्यवस्था यथावत रहनेछ ।” 

उहाँले यी उपायहरूमा छुट दिन पाँच प्रमुख शर्तहरू अघि सार्नुभएको छ । ती शर्तहरुमा बिरामीहरूको बढ्दो संख्यालाई सामना गर्न राष्ट्रिय स्वास्थ्य सेवाको क्षमता विकास भएको हुनुपर्ने, कोरोनाभाइरस–सम्बन्धित मृत्यु दरहरूमा एक दिगो र लगातार न्यून भएको ठोस प्रमाण हुनुपर्ने, संक्रमणको दर प्रबन्धनीय स्तरमा घट्दै गएको हुनुपर्ने, आवश्यक संशाधनहरूको उपलब्धता र परीक्षण क्षमता पर्याप्त रहेको देखिनुपर्ने तथा संक्रमणको दोस्रो लहरमा प्रवेश नहुने सुनिश्चित हुनुपर्ने रहेका छन् । 

हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख तीन हजार नाघेको छ भने झण्डै १४ हजारको ज्यान गएको छ ।(रासस/एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.