रोग र भोकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न माग - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

रोग र भोकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न माग

पोखरा, ५ जेठ : नेपाली काँग्रेस कास्कीले कोरोना सङक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा आज सम्पन्न भर्चुअल बैठकले बन्दाबन्दी लम्बिएको अवस्थामा राहत बढाउन माग गर्दै राजनीतिक पूर्वाग्रह नराखी राहत वितरण गर्न र कोरोना परीक्षणको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । 

काँग्रेसले जिल्लाका विभिन्न नाकाबाट शङकास्पद मानिस भित्रिरहेका कारण कोरोना सङक्रमण बढ्न सक्ने भन्दै प्रवेश नाकामा कडाई गर्नुपर्ने माग गरेको छ । साथै सीमामा अलपत्र र विभिन्न देशबाट आउन चाहेका नेपालीलाई उचित व्यवस्थापनसाथ ल्याएर घरसम्म पु¥याउन बैठकले माग गरेको छ । 

बन्दाबन्दीका समयमा पोखरा बसपार्कको बास्तोला कम्प्लेक्स सञ्चालनका कारण भिडभाड बढेको र शान्तिवनस्थित कृषि उपज बजारमा अन्य जिल्लाबाट तरकारी ढुवानी गर्दा अपरिचित र शङकास्पद मानिसको आवतजावत भई जोखिम बढेको गुनासो स्थानीयले गरेको भन्दै काँग्रेसले प्रशासनको ध्यानाकर्षण गराएको छ । बैठकले जिल्लामा उत्पादित तरकारी र दूधलाई प्राथमिकता दिएर बिक्री गर्ने वातावरण मिलाउन पनि माग गरेको छ । 

सर्वसाधारणले सर्वसुलभ स्वास्थ्योपचार सेवा लिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने योजना अव्यवहारिक भएकोले विकल्प खोज्नुपर्ने माग गर्दै काँग्रेसले शिथिल बन्दै गएका पर्यटन, उद्योग, कलकारखाना, कृषि, शिक्षाका लागि प्रोत्साहन प्याकेज ल्याउन र एसइइ लगायत शैक्षिक गतिविधिप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । कृषिजन्य उत्पादनको मौसम सुरु भएकोले बीउ र मलको तत्काल व्यवस्थासहित राहत प्याकेज ल्याउन पनि सो बैठकले माग गरेको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.