फोक्सिङ्टारको बेलिब्रिज हटाउन शुरु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

फोक्सिङ्टारको बेलिब्रिज हटाउन शुरु

खोटाङ, ७ जेठ : सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाउन शुरु गरिएको छ । खोटाङ र उदयपुर जोड्ने फोक्सिङ्टारमा गत मङ्सिर–२७ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज मङ्गलबारदेखि निकाल्न शुरु गरिएको हो । 

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो दूरीको सडक खण्डमा पर्ने फोक्सिङ्टारको अस्थायी बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सिधा यातायात सेवा बन्द भएको छ । बेलिब्रिज निकाल्नुअघि गाईघाट दिक्तेल सडक योजनाले प्रशासनलाई पनि जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङ्टारमा विगत पाँच वर्षअघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ । दिक्तेल सडक–गाईघाट सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलिब्रिज हटाइएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायत शहर जाने दोस्रो र छोटो मार्ग कम्तीमा ६ महिनाका लागि बन्द भएको छ ।

फोक्सिङ्टारको बेलिब्रिज निकालेपछि पूर्वी शहर जान–आउन एकमात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता शुरु भएको छ । फोक्सिङ्टारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ ।

फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदै आएको छ । निर्माण सम्पन्न गर्ने समय सकिँदा पनि फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको पिल्लरमात्र तयार भएको छ ।

फोक्सिङ्टारको अस्थायी बेलिब्रिज हटाइएसँगै जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मूल्यमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटाजस्ता निर्माण सामग्री कटारी–घुर्मी हुँदै ल्याउनुपर्दा ढुवानी मूल्यसमेत वृद्धि हुने व्यापारीको भनाइ छ ।

जेठ–३ गतेदेखि हटाउने भनिएको फोक्सिङ्टारको बेलिब्रिज दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाको अनुरोधमा तीन दिन पछाडि सारिएको गाईघाट–दिक्तेल सडक योजना उदयपुरका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो । सरकारले लागू गरेको बन्दाबन्दीका कारण व्यवसायीले दैनिक उपभोग्य वस्तु एवं निर्माण सामग्री भित्र्याउन नपाएकाले बेलिब्रिज निकाल्ने समय थप गर्न माग गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.