– हेमन्त केसी
जाजरकोट, २७ वैशाख : तीन छोरी, एक छोराका बुबा ७३ वर्षीय वीरे बस्नेत लौरीको सहारामा भेरी नगरपालिका–१ पिपेमा राहत लिन आउनुभयो । ख्याउटे शरीर बुढ्यौली उमेर लठ्ठीको साथमा आएका वीरे हेर्दैमा थकित देखिनुहुन्थ्यो ।
राहत बुझदै गर्दा आफ्नो हस्ताक्षर आफैँ गर्न नसकेकामा दुखी हुँदै उहाँले भन्नुभयो, “हाम्रो पालामा गोरु जमाना थियो, पढ्ने–लेख्ने कुरा कुन चरीको नामजस्तै भएको थियो । के गर्नु ! हस्ताक्षर गर्ने, ठूलो मान्छे बन्ने चाहना नभएको कहाँ हो र ? विद्यालयको नामै नसुनेर आधा उमेर गएको हो ।” विगतलाई सराप्दै राहत बुझेर जङ्गिएका वीरेले साथमा ७२ वर्षकी श्रीमती जैमती बस्नेतलाई पनि ल्याउनुभएको थियो ।
उहाँले आफ्ना पीरमर्का कसैले नबुझेको भन्दै जति छोराछोरी जन्माए पनि बुढेसकालमा यही बूढी काम लागेकी छ भन्दै राहतस्वरुप उपलब्ध गराएको एक बोरा चामल, नुन, तेल र साबुन थरर.. कापेर आफू र श्रीमतीले बोकी घरतिर लाग्नुभएको थियो । छोरा कहाँ छ थाहा छैन । बुहारी आफूबाट छुट्टिएर अर्को घरमा बसेकी छिन् भन्दै उहाँले थप्नुभयो, “घरमा खाने अन्नको एक गेडा थिएन, नगरपालिकाले चामल दिन्छ जसरी नि आउनुहोला भन्ने खबर वडाध्यक्ष दीपक बाबुले गरेपछि चर्को घाममा बूढीलाई लिएर आएको हुँ । पहिलोपटक राहत पाएको छु ।”
जनयुद्धको समयमा सरकारी सेनाले माओवादीको आरोपमा यातना दिएका कारण अहिले पनि वीरेको शरीर दुखेर रातभर निद्रा लाग्दैन । शरीर दुखे पनि उपचार कसले गरिदिन्छ र ? भन्दै उहाँले भन्नुभयो, “पीडा सहेर, रातभर एक्लै चिच्याएर बस्छु, मेरो पीडा सुन्ने को छ र ?”
वीरेजस्तै गरिब, विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारले राहत पाउँदा खुशी भएको छ । भेरी नगरपालिकाले आजदेखि राहत वितरणको काम शुरु गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । दैनिक ज्याला, मजदुरी गरेर छाक टार्ने वर्गलाई समस्या परेको भन्दै त्यस्ता स्थानीयवासीको लागत सङ्कलन कार्य भएकाले सोही आधारमा राहत वितरणको काम शुरु गरिएको नगरप्रमुख घर्तीको भनाइ छ । नगरले पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर शुक्रबारदेखि वडा नं १, ५ र ६ का विपन्न तथा असङ्गठित क्षेत्रका श्रमिकलाई दाल, चामल, नुन, तेललगायतका सामग्रीहरु वितरण शुरु गरेको हो ।
लकडाउनका कारण मजदुरी तथा ज्यालादारी काम गरेर आयआर्जन गर्न नपाइ समस्यामा परेका परिवारका लागि नगरपालिकाले १५ दिनका लागि उमेरअनुसार खाद्य सामग्रीको मात्रा तोक्दै राहतस्वरुप खाद्य सामग्री वितरण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिनको राहत प्याकेजअन्तर्गत वडा नं ३, ४, ८ र ११ मा बाहेक एक हजार १०६ विपन्न सर्वसाधारणलाई राहत उपलब्ध गराउन थालिएको हो । वडा नं ३, ४ ८ र ११ मा सङ्कलन भएको नामावलीबारे थप अध्ययन गर्नुपर्ने भएकाले नगर उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन पेश गरेपछि त्यहाँ कति जनाले राहत सामग्री पाउने भनेर यकिन भएपछि मात्रै सो वडाहरुमा राहत वितरण गरिने अधिकृत घर्तीले बताउनुभयो ।
नगरपालिकाका अनुसार खाद्य सामग्री वितरणबाट भेरी नगरपालिकाको वडा नं १ मा ३७ परिवार, २ मा ४३ परिवार, ५ मा १७ परिवार, ६ मा १३ परिवार, ७ मा ३५ परिवार, ९ मा २९ परिवार, १० मा २९ परिवार, १२ मा २७ परिवार र १३ मा ३५ परिवार लाभान्वित भएका छन् ।
यसभन्दा अघि भेरी नगरपालिका–१ का स्थानीयवासीले रकम जम्मा गरी विपन्न ६० घरधुरीलाई राहत वितरण गरिएको थियो । नगरपालिकाले राहत वितरणमा विभिन्न सङ्घ, संस्थाबाट सहयोगसमेत लिएको छ । वडा नं १ मा ३७ घरका १७५ जनालाई कारितास अष्ट्रेलिया, अष्ट्रिेलियन एडको आर्थिक सहयोगमा यार्सन नेपालले खाद्यान्न वितरण गरेको छ ।(रासस)

No comments:
Post a Comment