पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान

स्याङजा, १६ असार : देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्नो घर अगाडिको सडक वर्षौँ बितिसक्दासम्म पनि कालोपत्र हुन नसक्दा हिलाम्मे सड्कबाट आजित भएका स्थानीयवासीले सडकमै धान रोपेर साङ्केतिक विरोध जनाएका छन् ।

स्याङ्जाको वालिङ हँुदै पर्वतको हुवास जाने सडकखण्डको वालिङ नगरपालिका–९ पिपलटारीका स्थानीय बासिन्दाले सोमबार सडकमा पञ्चेबाजासहित धान रोपेपछि हेर्नेको घुइँचो नै लागेको थियो । सडक निर्माण भएको २७ वर्षसम्म पनि सडकको स्तरोन्नति नभएको भन्दै स्थानीय युवा क्लब र आमा समूहमा आबद्ध महिलासँगै सर्वसाधारणले सडकको स्तरोन्नतिको माग गर्दै सडकमा धान रोपेर विरोध जनाएका हुन् ।

पटक–पटक सडकको स्तरोन्नतिका लागि स्थानीय नगरपालिका प्रदेश र सङ्घीय सरकारले समेत चासो नदेखाएको स्स्थानीयवासीको गुनासो छ । स्थानीय पुरन गैरेले सडकको स्तरोन्नति नहुँदा स्थानीयवासीसँगै यस सडक भएर यात्रा गर्ने यात्रुलाई निकै समस्या भएको बताउनुभयो । गैरेले भन्नुभयो, “हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे सडकका कारण सडक छेउछाउका घरमा बस्न सक्ने अवस्था छैन, सरकारले हाम्रो सडक स्तरोन्नति गर्नुपर्ने मागलाई सुनोस् ।”

पर्वतको दक्षिणी भेगका सर्वसाधारण बुटवल, पोखरा जानका लागि सोही सडक भएर आवतजावत गर्छन् भने वालिङ हुवास सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा चल्ने सवारी साधनले सडक स्तरोन्नति नहँुदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । रासस

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.