ठम्याए आफ्नो अनुहार
मुस्कुराउँदा गालामा बस्ने डिम्पल
हराएछ त्यो कालो कोठी
अनि अनुहारको रौनक
यी प्रतिनिधि पात्रहरु
तिम्रै रगतका अंश हुन
कता कता देख्छु तिम्रै अनुहार
मैले बाचिरहेको जिउनी
जो खेलिरहेछ्न् आँगनमा
नाघ्न चाहन्छन् लक्ष्मण रेखा
जसरी तिमीले नाघ्यौ देशको सिमाना
हर बिहानी थप्छु सिन्दूर
तिम्रा दीर्घायू कबचमा बाँधिएर
ईश्वरसँगै एउटै कामना
तिम्रै आयुको।
तिमीले भन्यौं र थाहा पाए
आफ्नै आँखाले बिर्सिएको
मेरो आफ्नै अनुहार
तिमीले दिएको पेशी
मैले बोकेको इन्तजारमा
गुमाए सबैसबै सौन्दर्य
पर्खिरहेछु तिम्रो समीप
अनवरत बर्तमान स्नेही बन्धन !
म त सरल निस्चल जिउने मान्छे
गुमेको सौन्दर्यमा कुनै खेद छैन
ऊ हेर त्यो सौन्दर्यित गुलाफलाई
काँडाले सुरक्षित राखेको
सरदको स्पर्शले पनि त
बाचेकोछ धर्ती
तिमीले भन्यौं र सम्झे
अतीत बर्तमान र एउटा
रोक्न नसकिने समय जो अडिन
चाँहदैन घडी झैँ
घुमिरहन्छ निर्वाध
फरक फरक भेष बदलिरहन्छ
आफ्नै अनुहार
खोज्नै पर्ने हुन्छ
आफैलाई चिन्न एउटा ऎना ।।
मञ्जुश्री गिरी
विराटनगर

No comments:
Post a Comment