मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर छ : प्रधानमन्त्री ओली - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको छ । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको हो ।

उहाँले नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गर्नुभएको छ । सरकारको यस उद्देश्यलाई सफल पार्न प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट सक्रिय रहन सबैमा हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गर्नुभएको छ ।

उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सरकारले तय गरेका उल्लेख गर्दै यस्तो बेला विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाललगायत विश्वमै स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताउनुभएको छ । “विश्वसामु खडा भएको यस चुनौतीलाई सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको छ ।”

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.