पहिरामा परेर एकै दिन १८ को मृत्यु, २७ बेपत्ता - pharaksandesh.com

मुख्य समाचार


Friday, 14 August 2020

पहिरामा परेर एकै दिन १८ को मृत्यु, २७ बेपत्ता

काठमाडौँ, ३० साउन  : मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १८ जनाको मृत्यु भएको छ । अन्य २७ जना बेपत्ता छन् । 

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै ११ जनाको मृत्यु भएको र अन्य २७  जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजी जारी छ । 

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन । 

आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गर्नुभएको छ । पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु¥याइएको छ । 

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिनुभयो । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।

यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.