वीरगञ्ज, ३ भदौ : पर्सा जिल्लामा थप १०८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । मङ्गलबार पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको राति अबेर आएको रिपाेर्टअनुसार थप १०८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै पर्सामा १ हजार ५ सय ८२ पुगेकाे छ ।
जिल्लामा रहेका सङ्क्रमितहरूमा वीरगञ्जमा बस्ने २० जना भारतीय नागरिक, १०२ जना विभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी, ४६ जना विभिन्न अस्पतालका विभिन्न विभागका कर्मचारी, ७३ जना विभिन्न सुरक्षा निकायमा सुरक्षाकर्मी, छ जना विभिन्न सञ्चारमाध्यमका पत्रकार र ८९ जना कैदीबन्दी तथा थुनुवा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार मङ्गलबार नारायणी अस्पतालको प्रयोगशालाबाट कोरोना सङ्क्रमण पुष्टि भएका १०८ सङ्क्रमितहरूमा सर्वाधिक पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका ९० जना रहेका छन् । मेयरसहित १५ जनामा सङ्क्रमण देखिएपछि उनीहरूको कन्टयाक्ट ट्रेसिङका आधारमा साउन ३१ गते बैरिया बिर्ता र भौराटारमा सङ्कलन गरिएको स्वाबको नमुनालाई पीसीआर परीक्षण गर्दा तीमध्ये ९० जना सङ्क्रमण पुष्टि भएको हो । बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारका मात्र ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै नगरपालिकाको वडा नम्बर २ बैरियाविर्ता पिप्राका २० जना, वडा नम्बर ३ नगरदाहाका तीन जना र त्यहीँकाे स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चार जना र गम्हरियामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालका थप छ जना कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ । सोमबार राति उक्त अस्पतालमा ३० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
पर्साकै जीराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का चार जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिनुभयो। त्यस्तै अन्य थपिएका सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका दुइ जना, वडा नम्बर ५, १० , १२ र २५ का एक-एक जना रहेका छन् ।

No comments:
Post a Comment