विराटनगर, ५ भदौ : विराटनगरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अस्पतालमा आइसोलेसन शैय्या नपाएपछि घरकै आइसोलेशनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको ज्यान गएको वडाध्यक्ष विजय कामतले जानकारी दिनुभयो ।
उहाँका अनुसार उच्च रक्तचाप र मधुमेह रोग समेत भएका पुरुषको गएराति आठ बजे ज्यान गएको हो। घरमै मृत्यु भएपछि शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ । परिवारले हिजो बेलुकै मृत्यु भए पनि अध्यक्षलाई बिहान मात्रै जानकारी भएको थियो ।
शुक्रबार बिहानै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई वडा अध्यक्ष आफैँ जानकारी गराएपछि नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने भएको छ ।
योसँगै विराटनगर महानगरपालिकामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा दुई जना, रङ्गेली र सुनवर्षी नगरपालिकामा एक–एक जनाको मृत्यु भइसकेको छ ।
प्रदेश १ मा मोरङका १२ सहित सुनसरी धरानका एकजना गरी १३ जनाको र उपचारका लागि प्रदेश २ बाट आउने चार जनाको मृत्यु भइसकेको छ ।

No comments:
Post a Comment