प्रयोग भएको मास्क जथाभावी विसर्जनः सङ्क्रमणको जोखिम बढ्दो - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 August 2020

प्रयोग भएको मास्क जथाभावी विसर्जनः सङ्क्रमणको जोखिम बढ्दो

—नारायण अधिकारी
चितवन, ४ भदौ :  कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । 

मास्कको भित्रि भागमा थुक, ¥याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको वताउनुभयो । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ । 

मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सङ्क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य सङ्क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले वताउनुभयो । 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग ग¥यो, त्यतिनै सङ्क्रमण हुने सम्भावना बढी हुन्छ भन्नुभयो । यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्ने उहाँको भनाइ छ । “मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रुपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ”, डा अग्रहरीले भन्नुभयो, “मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर वाहिरको भागलाई भित्र पारेर गोलो बनाएर विर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ ।” डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उहाँले सुझाब दिनुभयो । 

मास्कमा किटाणु ३÷४ दिन सम्म रहने उहाँको भनाइ छ । नेपाल चिकित्सक सङ्घ चितवनका सह सचिब समेत रहनुभएका डा अग्रहरी मास्क जथाभावी फाल्दा सङ्क्रमण फैलन सक्ने सम्भावना बढी हुन्छ भन्नुभयो । खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगायतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा वगेर सङ्क्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्ने उहाँको भनाइ छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती बस्तुमा किटाणु लामो समयसम्म बस्छ । उहाँका अनुसार ४÷५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २÷४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ । 

अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न उहाँको सुझाब छ । एन— ९५ मास्क भने चार वटा किनेर चार दिन विराएर प्रयोग गर्न सकिने डा अग्रहरीले बताउनुभयो । उहाँका अनुसार यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ । 

उहाँले आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा सङ्क्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो । मास्कको प्रयोग र बिसर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.