काठमाडाैँ, ४ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा देशभरबाट ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरेकोमा ७ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । संक्रमितमध्ये १९२ जना महिला र ५१५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ९ सय ६४ पुगेको छ । यस्तै सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिइएको हो । आज, कोरोना भाइरसको संक्रमणबाट दुइ महिला र चार जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँकी एक महिला, मकवानपुरको एक पुरुष, सप्तरीको एक पुरुष र पर्सामा एक महिला, एक पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको प्रवक्ता गौतमले वताउनुभयो । हाल एक सय २९ जना आइसियुमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
अहिले ११ हजार ५ सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् ।

No comments:
Post a Comment