अन्तिम पत्र : सन्ध्या भण्डारी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

अन्तिम पत्र : सन्ध्या भण्डारी

-सन्ध्या भण्डारी
बेलुका ठ्याक्क ८ बजे म समाचार सुन्न भनेर सोफामा गएर बसेँ। किरिङ किरिङ ... फोन बज्यो। रिमोट नचाउँदै हेर्दै नहेरी फोन रिसिभ गर्न खोज्दै थिएँ। प्रमुख समाचारले मेरो सबै ध्यान उतै लग्यो।कान अझै ठाडा भए। "राष्ट्रकवि माधब प्रसाद घिमिरेको निधन।"

म दिउँसोदेखि नै काममा घोटिएको थिएँ। अफिसको कामको यति प्रेसर थपिएको थियो नि! बल्लतल्ल खाना खाएर फुर्सद पाएकोले न्युज सुन्न बसेको थिएँ। प्रमुख समाचार सुनेपछि एकपटक सार्है नराम्रो लाग्यो। फेरि फोन बज्यो ।यसो हेरेको निर्मलको रहेछ। उसले प्राय फोन गर्दैनथ्यो। च्याट नै हुन्थ्यो हाम्रो । गरिहाल्यो भने पनि गिरिसको बाटै गर्थ्यो। गिरिस र निर्मल रुममेट थिए उता। मेरो राम्रो चिनजान थियो गिरिससँग पनि। गिरिसलाई अस्ट्रेलिया जान बच्चै देखिको रहर अ रे!अनि त्यहाँको युनिभर्सिटीमा पढ्न ।निर्मल र ऊ त IELTS गर्दा देखिकै साथी थिए। मेरो चै खास उनिहरु उता गएपछी मात्रै चिनजान भको थियो। मैले हत्तपत्त उठाएँ अनि जिस्किदैँ भने "कता बाट सम्झिस् हो आज? अहो! फेरि २ चोटि गरिस् त है "मैले यति भनिसक्दा पनि निर्मल हाँसेन। "He is no more" गिरिस बोल्यो। "ह्वाट?" मेरो आङ सिरिङ्ग भयो। निधारबाट पसिना र आँखाबाट आँसु एकैचोटि झर्‍यो ।

"के भन्दै छौ गिरिस?" म अझै पत्त्याउन सक्ने हालतमै थिइन। "हो दाइ!" गिरिसले सानो स्वरमा बोल्यो। कसरी,के भयो,कहिले? मैले केही सोध्न सकिनँ।बिगत ४ बर्षदेखि उनीहरूसँगै थिए।दाजुभाइ जस्तै गरि बस्थे उनीहरू । मैले आफूलाई अलि दर्हो बनाउँदै सोधेँ "कसरी,के भयो गिरिस भन न ।"

"दाइ ,मैले फर्स्ट तपाईंलाई कल गरेको।उसको घरमा पनि थाहा छैन। दाइ हाम्रो जव नभएको २ महिना बढी भैसकेको थियो। म हिजो अर्को प्रोजेक्ट पाउन सकिन्छ कि भनेर बुझ्न गएको थिएँ। त्यही बेलामा निर्मलले नसा काटेर..." ऊ रोकिदैँ बोलिरहेको थियो। "निर्मलले तपाईंको लागि केही लेखेको छ । म इमेलमा अट्याच गरेर पठाउँछु दाइ।"

गिरिस एकदम तनावमा थियोे । मलाई भने अझै पनि होईन जस्तो लागिरहेको थियो। फेरि गिरिसको रुवाइ सम्झिएँ। सुसाइड? निर्मलले? के भयो उसलाई ? म त उसको कोक्रो देखिको साथी। केही भन्न बाँकी राख्दैनथ्यो । के भयो आखिर? मेरो मानसपटलमा निर्मलको आनिबानी र उसँग बिताएका एक एक क्षण घुमिरहेका थिए । म गिरिसको इमेलको पर्खाइमा थिएँ आउने बित्तिकै खोलेँ। 

इमेलमा फोटो अट्याच थियो। हेरेँ,उहीँ मैले पठाइदिएको डायरी! निर्मल कहिलेकाँही सायरी लेख्थ्यो अनि मौका मिलेको बेलामा सुनाउँथ्यो। त्यही डायरीको पेज नम्बर १५।

"प्रदिप ,तैँले दिएको डायरीमा लेख्दै छु।सरी यार ! तेरो पबित्र गिफ्टमा मैले सुसाइड नोट लेखेँ। प्रदीप मलाई जिउन मन लागेन यार। जव नभएको पनि २ महिना भयो।भएको सेभिङ्ग पनि सक्किन लाग्यो अब त। घरमा पनि धेरै भयो कुरा नगरेको। पैसा कमाउँछु अनि ऋण तिरौँला भनेर बुबालाई बिन्ती गरेर बिदेश आइयो। अहिले पैसा कमाउने बाटो भेटिएको छैन ।२ हप्ता अघि तैँले पठाइदेको ५०,००० ले खर्च टारिराको छु। बुबालाई ४ महिना अघि १ लाख पठाएको थिएँ। फोन गरेपछी फेरि बुबाको रुवाइ सुन्न सक्दिनँ । घरमा ठिकै होला नि है? कति दिन भयो कुरा गर्न नसकेको ।"

दुई हप्ता अगाडि "स्यालरी आउन टाइम लाग्ने भो यार यसो खर्च गर्दै गर्न अलिकति पैसा पठाइदे" त भनेको थियो निर्मलले । तर त्यो बेला जव नभएको कुरै गरेन ।

अनि फेरि पढेँ "गिरिसको सेभिङ्ग पनि कति दिन टिक्नु? बिचरा! उसैको टुङ्गो छैन जवको। म पनि उसलाई बोझ हुने भएँ। आज ऊ एउटा प्रोजेक्टको लागि गएको छ । खै!यो पनि मिल्छ कि मिल्दैन? गाह्रो पर्ने भयो। उसले तँलाई नै यो कुरा सेयर गर्छ भनेर लेख्दै छु प्रदिप ।

साहुको ऋण अझै तिरिसकेको छैन । बुबालाई सधैं कराईरन्छ रे । तँ सङ्ग छ भने बरु अलिकती पैसा दे न ल बुबा लाई निर्मलले पठाएकोथ्यो भनेर । बिदेश गएको छोरोको कमाइ देखेर खुसी हुनु हुँदो हो बुबाआमा। तेरो ऋण चै अर्को जुनिमा तिरुला है यार । म के चैं गरुँ? मैले कुनै बाटो भेट्टाउन सकिन यार! बुबालाई नराम्रो लाग्न नदे है।आमालाई नसा काटेर मर्यो अ रे नभन्दे है बरु एक्सिडेन्ट्मा परेछ भन्नु! प्रेसरको रोगी छिन् खै कसरी सम्हाल्लिन् .. "

मेरो आँखाबाट आँसु मात्र झर्‍यो । एकोहोरो भै पढिरहेको थिएँ। म त्योसँगै भएको भए, यस्तो लेख्दै गरेको भेटेको भए, एक झपड दिन्थेँ। मलाई अझै बिश्वास हुन सक्या थिएन।

बाटोमा कमिला देख्दा छलिछली हिड्थ्यो निर्मल! बिचराको बच्चाबच्ची छन् भन्दै जानीजानी कसैलाई कुल्चन दिँदैनथ्यो।आज त्यही निर्मलले सुसाइड गर्ने हिम्मत जुटायो भनेर कसरी पत्त्याउँ?

बिचरा! गिरिसले हस्पिटल पनि लगेछ। एकचोटि होस आएको थियो रे। अन्तिम अबस्थामा निर्मलले भनेथ्यो रे "म बाँचे भने प्रदिपले मलाई २ झापड हान्छ । तर अब त हान्न पाउँदैन जस्तो छ .."

त्यति भन्दै प्राण त्याग्यो अरे!

साँच्चै ! कस्सम मलाई त त्यसलाई २ झापु हान्ने मन अझै छ। पिडामा थियो भने त्यसले भन्नू पर्दैनथ्यो त? किन झुट बोल्यो? भोटो साटेर हुर्केको साथीलाई सम्म भनेन ल! घरमा भन्न सकेन, बुबाआमाको चित्त दुखाउन चाहेन। मलाई भनेन .. उफ्फ कसरी त्यति चाँडो हार मान्न सकेको?

मैले अब आमालाई के भन्ने? बुबालाई लगेर नोटको बिटो कसरी थमाउने जब कि कफिन आँगनमा आइपुगि सकेको हुन्छ। त्यसले सुसाइड पछि सबै कुरा ठिक हुन्छ सोच्यो तर बाआमालाई झन् कत्ति पिर थपिन्छ सोचेन। मेरो दिमागमा यस्तै कुराहरु चलिरह्यो।

टि. भि .बजिरहेको थियो। मनमा रिस देखि माया सबै एकैपटक उम्लियो। छेउमा भएको रिमोट झटारो हानेँ। रिमोटका टुक्रा टुक्रा भुइँ भरी भए । रिमोट त सधैंको लागि बिदा भयो निर्मल जस्तै गरि तर टि .भि. मा बजि नै रहेको थियो "फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा।"

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.