दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना : सिंह - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

दसैँ भत्ताका नाममा सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना : सिंह


काठमाडौँ, ३ कात्तिक :
नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय सांसदहरुलाई बद्नाम गर्ने सरकारको सुनियोजित योजना भएकाे आरोप लगाउनुभएकाे छ । सरकारले काेराेना महामारीकाे समयमा सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताउनुभएकाे छ । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको सिंहले आरोप लगाउनुभएकाे हाे । 

सांसद सिंह विज्ञप्ति जारी गर्दै भन्नुभएकाे छ, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’ सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गर्नुभयाे । उहाँले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने जानकारीसमेत गराउनुभएकाे छ ।  

उहाँले कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछिएको आरोप लगाउनुभयाे । जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखिएको उहाँको जिकिर छ । ‘अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाई मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ,’ उहाँले भन्नुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.