राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलको भोलि उद्घाटन हुँदै - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कुलको भोलि उद्घाटन हुँदै


काठमाडौँ, ४ कात्तिक :
२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको दरबार हाइस्कुल र रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ ।

विशिष्टीकृत महत्त्व रहेको यी दुवै संरचनाको बुधवार एक समारोहबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

मल्लकालीन समय अर्थात् ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरीको बिचमा रहेको मन्दिर ग्रन्थ कुट अर्थात् शिखर शैलीमा बनाएको अध्ययनले देखाएपछि पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न गरिएको छ ।

स्थानीय अभियन्ता, पुरातत्वविद्हरुको सुझाव अनुसार ग्रन्थकुट शैलीमा मन्दिरको निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस्तै दरबार हाइस्कुलको पनि पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्पले क्षतिग्रस्त निजी आवास पुनर्निर्माण लगायत सांस्कृतिक सम्पदा, विद्यालय तथा सार्वजनिक भवन, स्वास्थ्य संस्था र सुरक्षा निकायका भवनहरूको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

सबैभन्दा बढी क्षति पुगेको निजी आवासको पुनर्निर्माण ८२ प्रतिशत सम्पन्न भएको छ । यस्तै, शैक्षिक संस्थातर्फ ८० प्रतिशत र स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भएका छन् ।

यसै गरी सरकारी भवन ९० प्रतिशत र सुरक्षा निकायका भवनहरूको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएका छन् ।

विशिष्टीकृत महत्त्व रहेको सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेका छन् । भूकम्पले क्षति पुर्‍याएका ९ सय २० सांस्कृतिक सम्पदाहरू मध्ये ६० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

काठमाडौँको हनुमान ढोका परिसरका सांस्कृतिक सम्पदा, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रका कतिपय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएका छन् भने दरबार हाइस्कुल र रानी पोखरीको पुनर्निर्माण सम्पन्न भएर बुधवार उद्घाटन हुँदैछ ।

भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

पुननिर्माणपछि निजी आवास गुमाएका ५ लाख ३६ हजार ७ सय परिवार घर फर्किएका छन् । यस्तै भूकम्पबाटै क्षति पुगेका ७ हजार ५ सय ५३ शैक्षिक संस्थामध्ये ८० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ । यसै गरी स्वास्थ्य संस्था र सुरक्षा निकायका भवनहरूको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो ।

प्राधिकरणले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, केशरमहल र नक्सालस्थित बालमन्दिरको प्रबलीकरणसँगै रातो मच्छिन्द्रनाथकोे पुनर्निर्माण पनि तीव्र बनाएको छ । अधिकांश पुनर्निर्माण चालु आर्थिक वर्षभित्रै सकाउने प्राधिकरणको लक्ष्य छ ।

कोरोना सङ्क्रमणको जोखिममा समेत पुनर्निर्माणलाई तीव्र बनाउने प्राधिकरणको कार्य प्रशंसनीय रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.