नेपाल–चीनबीचको प्रस्तावित ट्रान्स–हिमालयन रेलवे परियोजना भूराजनीतिक गेमचेन्जर हुनसक्छ : पूर्वप्रधानमन्त्री भट्टराई - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

नेपाल–चीनबीचको प्रस्तावित ट्रान्स–हिमालयन रेलवे परियोजना भूराजनीतिक गेमचेन्जर हुनसक्छ : पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडाैँ, ४ कात्तिक :
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले नेपाल–चीनबीचको प्रस्तावित ट्रान्स–हिमालयन रेलवे परियोजना आर्थिक र भूराजनीतिक हिसाबले गेमचेन्जर हुन सक्ने बताउनुभएकाे छ । उहाँले सो रेलवे परियोजनाप्रति नेपाली जनतामा निकै आकर्षण रहेकोसमेत उल्लेख गर्नुभयाे ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो बेल्ट एण्ड रोडसम्बन्धी राजनीतिक दलहरुको सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले केरुङ– रसुवा– काठमाडौं रेल परियोजनाको सम्भाव्यता अध्ययन सकिएको तर प्राविधिक र वित्तीय चुनौतीसँगै काठमाडौंको राजनीतिक अनिश्चिताका कारण धेरै काम हुन नसकेको बताउनुभएकाे छ ।

भट्टराईले भन्नुभयाे, ‘यसलाई दुवै पक्षले गम्भीर रुपमा लिनुपर्छ किनभने रक्सौल–काठमाडौं रेल पनि योजनामा रहेका छ । यसले नेपाललाई भारत र चीनबीचको जीवन्त आर्थिक पुल बनाउने सपनालाई साकार पार्दछ ।’

नेता भट्टराईले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरुको बीचमा राम्रो सम्बन्ध रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई सुदृढ बनाउन र नेपाल–चीन सम्बन्धलाई झन् गहिरो बनाउन प्रतिवद्ध रहेको पनि बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.