अनि तिम्रा आँखामा तिम्रा सङ्घर्ष छचल्किँदै गरेको देख्दा
तिम्रो अदरमा मुस्कान बनि टक्क अडिएको
तिम्रो बिगत म नियाल्न खोज्दै थिएँ ।
तिमीले तिम्रो वसन्ती चोकका गाथा सुनाउँदै गर्दा
अनि चुहिने छानासँगका यादहरु बटुल्दै गर्दा
यी गर्मीका दिनहरुमा पनि
ती छानाबाट चुहिरहने सितका थोपाहरूले मुटु चिस्याउँदै थिए
अनि म त्यो बेलाको मुटुको चिसोपन आभास गर्दै थिएँ।
साइकलको पञ्चर टालेका हरेक टालटुलका सम्झनाहरूले
तिमीले भोग्दै, पल्टाउँदै अनि टाल्दै आएका
जीवनका अनेकौं पञ्चरका दृष्य कसरी नसमेट्लान् र!
तिम्रा भोगाई, सङ्घर्ष अनि च्यातिने र टाल्ने नियतिले
हरेक पटक भर्याङमा थपेको खुड्किलाहरू गन्दै जाँदा
तिम्रा खुशीका खुड्किलाहरू पनि थपिँदै जाउन् भन्दै प्रार्थना गर्दै थिएँ ।
आखिर च्यातिएका पाटाहरू टाल्दै
रङ्गहीन आकृतिहरूमा रङ्ग भर्दै
खुशीका खुड्किलाहरू थप्दै
सङ्घर्षका गाथाहरू बुन्दै त चल्ने रहेछ यो रथ ।
अनि तिनैबिच तिमी एक यात्री
लड्दै, घिस्रिँदै,उठ्दै
हरेक पाइलामा सपना बुन्दै
क्रुर दुनियाँसँग हरेक कदममा ठक्कर खाँदै
केही साथ खोज्दै अनि केही मान राख्दै
जब हिँडेको देख्छु
तिम्रा अघि बढेका पाइलाहरू नियाल्दै
आफ्ना खुशी गन्छु
मेरा दु:ख याद गर्छु
असफलताले गिज्याएको
अनि सङ्घर्षले बोलाएको आभास गर्छु
जब दुर दुर सम्म साथ भेट्दिन
अनि सम्झन्छु
साथ सधैँलाई हुन्छ भन्ने सोच्दै गर्दा
यो बिर्सिएँछु
साथ त याद बनाउनका लागि मात्र रहेछ
अनि एक दुई गर्दै पाइला अघि बढाउँछु
तिम्रा सङ्घर्षका कथाहरु सुन्दै
अनि आफ्नै जीवनका गाथाहरू बुन्दै!
No comments:
Post a Comment