कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीतः प्रवक्ता शर्मा - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीतः प्रवक्ता शर्मा


काठमाडौं, २० असाेज :
प्रदेशसभामा भएको तोडफोडको घटनालाई नेपाली कांग्रेसले नै लोकतान्त्रिक अभ्यासका निम्ती शोभनिय नभएको भनेको छ । प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरु बसिरउद्दीन खाँ, अष्टभुजा पाठक र वैजनाथ कलवारले सभाको कुर्सी तोडफोड गर्नुभएको घटनालाई कांग्रेस नेतृत्वले आलोचना गरेको छ ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को प्रदेशसभामा आफ्नो दलका सांसदले गरेको व्यवहार मर्यदाविपरित भएको बताउनुभएको छ । ट्विटमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताउनुभएको हो । उहाँले रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन भन्नुभयो ।

प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन् । सो तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नैपर्छ प्रवक्ता शर्मा ट्वीट मार्फत बताउनुभएको हो ।

यसैगरी नेता गगन थापाले ट्वीटमार्फत नै प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनुपर्छ, नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो भन्नुभएको छ । उहाँले आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्न पनि आग्रह गर्नुभयो ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय अनुशासन विभागले पनि घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने तयारी गरेको छ । प्रदेश नम्बर ५ को प्रस्तावित नाम र राजधानी कायम गर्ने सम्बन्धमा सो प्रदेशका नेपाली कांग्रेसभित्रै मतक्यता हुन सकेको छैन । नेपाली कांग्रेस रुपन्देही र कपिलवस्तुबाहेक अधिकांश जिल्लाले प्रस्तावको पक्षमा समर्थन गरेको देखिएको छ ।

यसअघि नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले प्रेस विज्ञप्ती जारी गरी प्रस्तावित भालुवाङ क्षेत्र उपयुक्त हुने भन्दै त्यसको समर्थन गर्नुभएको छ । यसैगरी बर्दियाका प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले पनि भालुवाङ क्षेत्र स्थायी राजधानी उपयुक्त हुने भन्दै प्रस्तावको समर्थन गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.