आज राति ‘मृघशिरा’ उल्का वर्षा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

आज राति ‘मृघशिरा’ उल्का वर्षा


काठमाडाैँ, ४ कात्तिक :
हेलीको पुच्छ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने भएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई वटा उल्कावर्षा हुन्छन् । प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण हुने गर्छ ।

आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समय अनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम हुने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले बताए ।

अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

के हो उल्का वर्षा ?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

के हो हेलीको पुच्छ्रेतारा ?
बेलायती खगोलशास्त्री ’एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धि साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ’हेलोको पुच्छ्रेतारा’ भनिएको हो । यो एक नियमित पुच्छ्रेतारा हो जसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब २०६१ मा देखिने अनुमान गरिएको छ ।

कसरी हेर्ने उल्कावर्षा ?
उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक छैन, सामान्य हिसाबले नाङ्गो आँखाले नै हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको एकदम आवश्यक हुन्छ किनकि प्रतिघण्टा दर जुन हामी भन्छौं पढ्छौं त्यो एक घण्टा अर्थात् ६० मिनेटमा देखिन सक्ने औसत उल्काको संख्या हो जुन अवलोकन स्थानको अवस्थाले पनि फरक पर्छ ।

उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ यसको लागि तपाईँ घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँमा जान सक्नुहुन्छ । यी दुबै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कदा सुरक्षाको पनि कुरा आउँछ । चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्नुहोला।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.