किन चर्चामा छ नरवाणेको भ्रमण ? - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

किन चर्चामा छ नरवाणेको भ्रमण ?


काठमाडौं, १८ कात्तिक :
भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको आसन्न नेपाल भ्रमण विगतका सेना प्रमुखहरुको भ्रमण भन्दा बढी चर्चामा छ । जनरल नरवाने नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउदो बुधबार नेपाल आउन लाग्नु भएको हो । दुइदेशबीच ‘मानार्थ महारथी’ को दर्जा प्रदान गर्ने पुरानो परम्परा हो । भारतका तत्कालिन सेनाध्यक्ष जनरल करियप्पाले करिव ७० बर्षअघि पहिलोपटक नेपाली सेनाको मानार्थ महारथी दर्जा लिएको इतिहास छ ।

इतिहास पुरानो भएपनि नेपाल र भारतबीच अहिले सुल्झाउन पर्ने नयाँ विषयहरु छन् । यसैबेला जनरल नरवानेको भ्रमण हुँदैछ । त्यसैले पनि यो भ्रमणले विगतको भन्दा बढी चर्चा पाएको हो । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको अद्यावधिक नक्सा जारी गरेपछि दुइदेशबीच उच्च तहमा संवाद हुन सकेको छैन । नेपालले संवादका लागि आवश्यक पहल र सवै प्रमाण जुटाएर बसेको छ । नक्सा जारी भएपछि आएको जनरल नरवानेको अभिव्यक्तिले पनि आसन्न भ्रमणले धेरैको ध्यान खिचेको हो । तर कुटनीतिमा तत्कालको अभिव्यक्ति भन्दा शान्त संवादको महत्व रहन्छ । त्यसैले पनि यो भ्रमणलाइ दुवै देशले सरकार प्रमुखहरुबीचको सन्देश संवाहनको अवसरकारुपमा समेत उपयोग गर्न सक्ने अवस्था छ । किनकी प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । भ्रमणका अवसरमा जनरल नरवानेले रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्रीसँग पनि औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ । त्यसैले यो भेटमा दुइ देशका प्रधानमन्त्रीबीचको संदेशको संवहन पक्कै हुनेछ ।

विश्वमा रक्षा कुटनीतिको उपयोग शीत युद्धको उत्तरार्द्धबाटै भएको हो । रक्षा कुटनीतिलाइ विदेश नीति कार्यान्वयनको महत्वपूर्ण संयन्त्र पनि मानिन्छ । तर जनरल नरवानेको भ्रमण रक्षा नभएर सैन्य कुटनीतिको बलियो माध्याम बन्न सक्नेछ । किनकी यसअघि पनि भारतको अघोषित नाकाबन्दीका बेला शैन्य कुटनीतिको प्रयोग भएको थियो । जनरल नरवानेको आसन्न भ्रमणलाई नेपाली सेनाले परम्पराको निरन्तरता भनेको छ । तर यो भ्रमण सीमा लगायतका विषयमा दुवै देशका उच्च नेतृत्वको मन बुझ्न बुझाउन र आगामी दिनमा वार्ताको वातावरण बनाउन समेत सहयोगी बन्ने रक्षा विशेषज्ञहरुको विश्लेषण छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.