भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा


काठमाडौं, १९ कात्तिक :
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । भारतीय वायु सेनाको विमानमार्फत केहिबेर अघिमात्र उहाँ काठमाडौं आइपुग्नु भएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे नेपालको भ्रमणका आउनुभएको हो ।

बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

यहाँ रहँदा नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उहाँले नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई भोलि अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा राष्ट्रपतिसँग उहाँले शिष्टाचार भेट गर्नुहुनेछ ।

भोलि नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्षसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्नुहुने कार्यक्रम छ ।

नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.