गोरखाको लाप्राकमा पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

गोरखाको लाप्राकमा पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु


पोखरा, १६ कात्तिक :
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक स्थित मणिकामदेवी मा.वि.मा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु गरिएको छ ।

गत वर्ष अध्ययन अध्यापनको अनुमति पाएको उक्त विद्यालयले कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण विषय पठनपाठन गर्न थालेको हो । कक्षा ११ मा अनिवार्य विषय बाहेक ४ वटा ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको छ ।

यस अघि मनोविज्ञान, शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुदै आएको उक्त विद्यालयमा अब बिद्यार्थीहरुले पर्यटन र पर्वतारोहण विषय पनि अध्ययन गर्न पाउने छन् । यसै वर्ष देखि शुरुवात गरिएको पर्यटन र पर्वतारोहण विषयतर्फ बिद्यार्थीको अकर्षण समेत बढेको विद्यालयका प्र.अ. धन बहादुर गुरुङले जनाकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो वर्ष अहिले कक्षा ११ मा पर्यटन र पर्वतारोहण विषय अध्ययन गर्ने बिद्यार्थी ४३ जना छन् । पठनपाठनलाई प्रभावकारी बनाउन उक्त विद्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान बिच सम्झौता समेत भएको छ । पर्यटन र पर्वतारोहण विषय अध्ययन अध्यापन गराउन दक्ष अनुभवी प्रशिक्षक तथा पाठ्यक्रम र अध्ययन सामाग्री र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने छ ।

अध्ययन अध्यापनको सबै प्रबन्ध भने विद्यालयले मिलाउनेछ । पर्यटन र पर्वतारोहण विषय मास्टर डिग्री सम्म उक्त स्थानमा पठनपाठन गराउने गाउँपालिकाको तयारी छ । विद्यालयमा सैद्धान्तिक पठनपाठनले मात्र उपलब्धि हासिल गर्न नसकेको वर्तमान अवस्थामा उक्त विद्यालयले भने प्रयोगात्मक रुपमै रक क्लाईम्बिङ, क्यानोनिङ, हिलक्लाईम्बिङ जस्ता प्रक्टिकल्ली संरचना तयार पारेर पर्यटन र पर्वतारोहण विषय सञ्चालन गरेको छ ।

उक्त विद्यालयमा पर्यटन र पर्वतारोहण विषय औपचारिक पठनपाठनको शुरुवात गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा तालिमको रुपमा प्रशिक्षण दिने गरेको भएता पनि पर्यटन र पर्वतारोहणको पठनपाठन विद्यालय तहमा नभएको बताउदै उक्त विद्यालयल गण्डकी प्रदेशकै उदाहरणिय बनेको बताउनुभयो ।

साहसिक पर्यटनको विषयमा धेरैलाई ज्ञान नहुदा यसको प्रवद्र्धन हुन नसकेको र नजानेरै प्रयास गर्दा ज्यान समेत जाने गरेको हुदाँ अब विद्यालयले त्यस्तो हुन बाट जोगाउने बताउनुभयो । गण्डकी प्रदेश साहसिक पर्यटनका हिसाबले अत्यान्तै महत्वपूर्ण प्रदेश भएको चर्चा गर्दे मन्त्री लम्सालले साहसिक पर्यटनको क्षेत्रमा लगानी समेत बढेको हुदाँ अन्य विद्यालयहरुमा पनि यस्तो किसिमको पढाई सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । उक्त विद्यालय बाट सैद्धान्तिक र व्यवहारिक ज्ञान सहित उत्पादन हुने नयाँ जनशक्तिको खपत देशको पर्यटन क्षेत्रमा हुने बताउनुभयो ।

प्रदेश सभा सदस्य धनञ्जय दवाडीले शिक्षालाई समय सापक्ष स्तरिय र ब्यबहारिक नबनाउने हो भने शिक्षाले केबल शैक्षिक बेरोजगार र नैराश्यता मात्र पैदा गर्ने हुदाँ प्राबिधिक र व्यवहारिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले पर्यटन सँग सम्बन्धित पढाई हुने देशका विभिन्न कलेज सँग समन्वय गरेर स्थानिय विषय समेत समावेश गरी पठनपाठन सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको बताउनुभयो । शिक्षा ब्यबहारिक हुन आवश्यक रहेको बताउदै शिक्षालाइ उत्पादनसङ्ग जोड्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.