काठमाडाैँ, २४ पुस : विवेकशील पार्टीले शुक्रबार माइतीघर मण्डलमा ऐना देखाएर प्रतिनिधि सभा विघटनकाे विराेधमा प्रदर्शन गरेको छ ।
नेताहरूको व्यक्तिवादी चिन्तन, व्यक्तिगत र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लागेकाले नेताहरूले एक पटक आ–आफ्नो व्यवहारहरू ऐनामा हेरून् र तटस्थ भएर आफ्नै व्यवहारहरूको गम्भीर समीक्षा गरून् भन्ने सन्देश प्रवाह गर्न आफूहरूले ऐना देखाएर प्रदर्शन गरेको विवकेशील पार्टीका नेता शशिविक्रम कार्कीले बताउनुभयाे । उहाँले शनिबार बिहान साढे १० बजे पनि माइतीघर मण्डलमा ऐना प्रदर्शन गर्दै प्रधानमन्त्रीको कदमको प्रतिवाद जारी राख्ने जानकारी दिनुभयाे ।
प्रदर्शनमा सहभागीहरूले “रिफ्लेक्ट गरौँ !! नागरिकले/समाजले/दलले/सरकारले” “मनन गरौँ !! हाम्रो अवस्था, लक्ष्य, आवश्यकता” प्रतिनिधि सभा विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, "कू" मतिमा नलाग्नुहोस् प्रमज्यू, अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लुटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ, लगायत लेखेका प्ले कार्ड बोकेका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गरेको आज १९ औँ दिन हो । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि विवेकशील पार्टीले विभिन्न सिर्जनात्मक शैली प्रयोग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।
No comments:
Post a Comment