पालिकाहरूमा १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेन, प्रभावकारी काम गर्न अर्थमन्त्रीको आग्रह - pharaksandesh.com

मुख्य समाचार


Sunday, 10 January 2021

पालिकाहरूमा १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेन, प्रभावकारी काम गर्न अर्थमन्त्रीको आग्रह


काठमाडाैँ, २६ पुस :
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पालिकाहरूमा विशेष प्राथमिकता दिएर पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग अर्थ मन्त्रालयमा आइतबार भएको बैठकमा अर्थमन्त्री पौडेलले पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न अनुरोध गर्नु भएको हो ।

पालिकामा पुगेको रकममध्ये एक खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्च गरे गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले कोरोनाबाट अति प्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

यसैगरी उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जुले समय तालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जुसहितको बैठकमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गर्नुभएको छ ।

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका एक सय ९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर तुम्बाहाम्फेले बाँकी रहेका पालिकामा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.