प्रतिनिधि सभा विघटनकाे विराेधमा कांग्रेसद्वारा आन्दाेलन घाेषणा - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 27 January 2021

प्रतिनिधि सभा विघटनकाे विराेधमा कांग्रेसद्वारा आन्दाेलन घाेषणा


काठमाडाैँ, १४ माघ :
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

मङ्गलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । माघ १९ गते पार्टी निकट भातृ संस्थाहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रूपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमका साथै जिल्ला समिति र भातृ सङ्गठनहरूले आवश्यकताअनुसार कार्यक्रम गर्न सक्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

नयाँ सङ्घीय संरचना अनुरूप पार्टीको स्थानीय साङ्गठनिक संरचनालाई समायोजन गर्न जिम्मेवारी पाएअनुसार ७४ वटा जिल्लामा समायोजन कार्य पूरा गरेकोमा बैठकले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन पनि गरेको छ । बाँकी रहेको समायोजनको काम सम्पन्न गर्न पनि फेरि निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बैठकले नेपाली कांग्रेसका भातृ सङ्गठनहरू नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी/जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्मका लागि थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

साथै नेपाली कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरबको जनसम्पर्क समितिका क्रियाशील सदस्यलाई स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरूले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नेपाली जनसम्पर्क समिति यूएईको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरि कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

सोमबार नागरिकले प्रतिनिधि सभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिँदै विरोध गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो । बैठकले घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै त्यस दमनकाे निन्दा र भर्त्सना गरेको उहाँको भनाइ छ ।

त्यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्ने गरेको कांग्रेसको ठहर छ । अदालतमा विचाराधीन मुद्दालाई समेत 'तमासा' भनेर ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई गरेको टिप्पणी तथा पत्रकारकमाथि पनि अशोभनीय टिप्पणी गरेकाले प्रधानमन्त्रीको टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता शर्माले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.