काठमाडाैँ, १७ पुस : नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि बढेको दुईपक्षीय द्वन्द्वले प्रदेश १ सरकार थप संकटमा परेको छ । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरेको छ ।
दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा बसेको संसदीय दलको आकस्मिक बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । नेता आचार्य अविश्वासको प्रस्तावमा दर्ता गराइएका प्रस्तावित मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।
बैठकलगत्तै सो समूहले राईलाई हटाएर आचार्यलाई दलको नेता निर्वाचित गरिएको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । १२ पुसमा प्रचण्ड–माधव समूहका ३७ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाउन माग गर्दै प्रदेश सभा सचिवालय अनि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावमा छलफल गर्न उपनेता आङबुहाङ र सचेतक सौभाग्यवती राईले १९ पुसमा संसदीय दलको बैठक बोलाएका थिए । तर, अविश्वासको प्रस्ताव दलका नेता र प्रमुख सचेतकलाई जानकारी नगराई अवैधानिक रूपमा दर्ता गराएको भन्दै हस्ताक्षर गर्ने सांसदहरूलाई ओली समर्थक मुख्यमन्त्री पक्षले २४ घन्टे अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेपछि प्रचण्ड–माधव समूहको बिहीबार संसदीय दलको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई बहुमतले हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो ।
बहुमत सांसदले आविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसदहरूलाई कारबाही गर्ने, लोभ देखाउने, धम्क्याउने काम थालेकाले आकस्मिक बैठक बस्नुपरेको उपनेता आङबुहाङले बताए । ओली समूहले भने संसदीय दलको नेता शेरधन राई नै कायम रहेको र अर्को पक्षले अवैधानिक रूपमा राखेको बैठक र छानेको नेता आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।
आइतबार ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर थिए । त्यसपछि ती सांसदहरु गाउँ फर्किए । त्यही दिन १९ गतेलाई संसदीय दलको बैठक बोलाउने सहमति पनि भएको थियो । तर १४ गते मंगलबारको मितिमा सूचना निकालेर १५ गते संसदीय दलको आकस्मिक बैठक बोलाइयो । बिहीबार १६ गते मात्र सूचना सार्वजनिक भयो र संसद सचिवालयमा मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउने ब्यहोराको पत्र पठाएर दर्ता पनि भयो । त्यसपछि नेकपाभित्र असन्तुष्टि र ध्रुवीकरण तीव्र भयो ।
संसदीय दलको बैठक बसेको भनिएको बुधबार बिहान ९ बजेको समयमा धेरै सांसदहरु विराटनगरमा थिएनन् । संसदीय दलको बैठक बसेर मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको खबर बिहीबार दिउँसो मात्र सञ्चारमाध्यमले जानकारी पाएका थिए ।
संसदीय दलको बैठकको बारेमा थप जानकारी लिन धनकुटाकी सांसद कुशुमकुमारी श्रेष्ठलाई सोध्दा उहाँ धनकुटाको पाख्रीबासमा हुनुहुन्थ्यो । १९ गते मात्र संसदीय दलको बैठक बोलाइएकाले बैठकबारे जानकारी नभएको उहाँले बताउनुभयो ।
अविश्वासको प्रस्ताव दर्ता गर्नेमध्येका एक प्रचण्ड-नेपाल समूहका सांसद मोहनकुमार खड्का ओखलढुंगाको एउटा कार्यक्रममा हुनुहुन्थ्यो । संसदीय दलको बैठक १९ गते बोलाइएकाले बैठकको बारेमा जानकारी नै नभएको उहाँको पनि प्रतिक्रिया थियो ।
यसबारे जानकारी लिनको लागि फोन गर्दा धेरै सांसदले उठाएनन् । फोन उठाउनेमध्येका अर्का सांसद राम राईले संसदीय दलको बैठक १९ गते भएको बताउनुभयो । सांसद सीता थेबे पनि पाँचथरमा १४ गते पार्टीको कार्यक्रम रहेकोले कार्यक्रममा सहभागी हुन आएपछि नफर्किएको बताउनुहुन्छ ।
तीनै सांसदहरुमध्येका साबित्रा रेग्मी र सरिता थापाले भने संसदीय दलको बैठक तीनपैनीमा बसेको स्वीकार गरे । बैठक कहिले बसेको भन्नेमा उनीहरु पनि अन्योलमा देखिन्थे । केही सांसदले बैठक बिहीबार बिहान बसेको बताए भने केही सांसदले बुधबार बिहान ९ बजे बसेको भनेका छन् ।
यसैबीच प्रचण्ड-नेपाल समूहका नेता तथा नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले प्रदेशसभा सचिवालयमा पेस गर्नु भएको पत्रमा १५ गते बिहान ९ बजे नेकपा संसदीय दलको बैठक बसेर संसदीय दलको नेताको रुपमा शेरधन राईमाथि अविश्वासको प्रस्ताव पारित भएको र रिक्त रहेको संसदीय दलको नेताको रुपमा भीमप्रसाद आचार्यलाई दलको नेता कायम गरिएको उल्लेख छ ।
No comments:
Post a Comment