२० महिनाकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृत्युवरण गरिन् - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 January 2021

२० महिनाकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृत्युवरण गरिन्


काठमाडौं।
आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृत्युवरण गरेकी छिन् । गम्भीर दुर्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डेड घोषित गरेपछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।

धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डेड घोषित गरियो । धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो । जतिबेला हाम्री छोरी अस्पतालमा भर्ना थिइन् त्यतिबेला हामीले यस्ता अभिभावकहरु भेट्यौं जो आफ्ना बच्चाको ज्यान बचाउनको लागि अंग पाउने प्रतिक्षा गरिरहेका थिए ।’

आशिषले अगाडि भने ‘हाम्री छोरी ब्रेन डेड भइसकेकी थिइन् । मैले डाक्टरसँग हामीले छोरीका अंग दान गर्न सक्छौं कि भनेर सोधें । डाक्टरले हामीले यस्तो गर्न सक्ने बताउनुभयो । म र मेरी पत्नीले अरु बालबालिकाको ज्यान बचाउनको लागि हाम्री छोरीलाई गाड्नुको सट्टा उनको शरीर दान गर्ने निर्णय गर्यौं । कम्तीमा हामीलाई यो कुराको सन्तुष्टि त हुन्छ कि हाम्री छोरी अब उनीहरुमा जीवित छिन् ।’

सर गंगाराम अस्पतालका अध्यक्ष डा. डीएस राणाले भने ‘मस्तिष्कबाहेक धनिष्ठाका सबै अंगले राम्रोसँग काम गरिरहेका थिए । मातापिताको मन्जुरीपछि उनको मुटु, मृगौला, कलेजो र दुवै कर्निया अस्पतालमै प्रिजर्भ गरिएका थिए । उनका दुवै मृगौला एकजना वयस्कलाई, मुटु र कलेजो दुई अलग अलग बच्चाहरुलाई दिइयो । कर्नियालाई अझै पनि सुरक्षित राखिएको छ जो दुई जनालाई दिइनेछ । यसरी धनिष्ठाले ५ जनालाई नयाँ जीवन दिएकी छिन् ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.