रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 November 2019

रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ

डोटी, २५ कात्तिक : कैलालीको शहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म जोड्ने बोगटान सडक कालोपत्रको कार्यमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गर्नुभएको थियो । 

प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गर्नुभएसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो । नालीको काम सकिए पनि सडक किनारामा भएका रुख कटान गर्ने आदेश नपाउँदा अहिले आएर कालोपत्रको काममा ढिलाइ हुन थालेको सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य काम सकेर हामी कालोपत्रको कार्यको थालनीमा छौँ तर सडक किनाराका रुख कटान गर्ने आदेश अहिलेसम्म आएको छैन, कसरी तोकिएको समयमा कामसक्ने चिन्तामा छौँ ।” कैलाली चुरे गाउँपालिका वडा नं २ मा रहेका वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण काम ढिलो भएको उहाँको भनाइ छ । रुख कटानी आदेश नपाइए कालोपत्र नहुने र फेरि स्थानीयवासीले धुले सडकमै असुरक्षित यात्रा गर्नुपर्ने स्थिति आउन थालेको कैलाली चुरे गाउँपालिका वडा नं २ का स्थानीय खेमबहादुर पातलीले बताउनुभयो । 
उहाँले भन्नुभयो, “सडक कालोपत्र हुने भयो भनेर हामी खुशी थियौँ, रुख नकाटे कालोपत्र नहुने रे हामीलाई पो गाह्रो हुने भयो ।” उता सडक कालोपत्रको काम तोकिएकै समयमा हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । कालोपत्रको काम आफूहरुबाट ढिलो नभई वातावरणीय प्रभाव मूल्याङ्कनको काम नटुङ्गिँदा काम गर्न ढिलाइ भएको निर्माता कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेत दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कालोपत्र हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ”, “इआइएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले काम हुन सकिरहेको छैन ।” 

यतिमात्र नभई कालोपत्र हुने सडक किनारामा परेका घरजग्गाको मुआब्जाका विषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनुपर्ने अवस्था रहेको सम्पर्क प्रबन्धक बस्नेतले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडकमा भएका ६० घरमा कसैको सिँढी, कसैको पाली, कसैको आँगन भत्काउनुपर्ने अवस्था छ”, “यस विषयमा अहिलेसम्म केही भएको छैन, मुआब्जा कसले दिने हो भन्ने पनि जानकारी छैन ।” उक्त सडकमा अहिले ३०० मजदूरले दैनिकरुपमा काम गरिरहेको र फेरि ४०० सय मजदूर थप्ने तयारी भइरहेको निर्माता कम्पनीले जनाएको छ । उक्त सडकको इआइएको काम छिट्टै टुङ्गिने सडक सुधार तथा विकास आयोजनाअन्तर्गतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “इआइएको काम अन्तिम चरणमा पुगिसकेको छ, अब एक–दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आइसक्छ ।” मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो । कैलालीको शहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने प्रावधान रहेको छ । एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलर रहेको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.