महालक्ष्मी आचार्य र गृष्मा पनेरु
के हो तनाव
क) मानसिक लक्षण
ख) शारीरिक लक्षण
ग) व्यवहारमा आउने परिवर्तन
तनावले ल्याउन सक्ने परिणाम
कुनै तनाव समस्यासँगै हराएर जान्छ । त्यसले कुनै असर पार्दैन तर कुनै तनाव धेरै लामो समयसम्म गहिरो रुपमा मन मस्तिष्कमा जरो गाडेर बस्छ । त्यसले स्वास्थ्यमा नराम्रो असर पार्छ । ती असरहरु यस प्रकारका छन् —
तनाव व्यवस्थापन
(नाेट : लेखक द्वय आचार्य र पनेरु मनोसामाजिक परामर्शदाता हुनुहुन्छ।)
के हो तनाव
तनाव मानसिक स्थितिबाट उब्जिएको एक किसिमको विकार हो । मनमा चल्ने द्वन्द्व हो अर्थात् मानसिक द्वन्द्व, जसले मन र भावना बीच दरार पैदा गर्छ । मानसिक स्थिति र बाह्य परिस्थिति बीचको असन्तुलनको कारण उत्पन्न हुने गर्छ । यसको कारण मन अशान्त रहन्छ, भावनामा अस्थिरता पैदा हुन्छ । व्यवहारमा विचलन आउनुका साथै शारीरिक अस्वस्थताका विभिन्न लक्षणहरु देखिन थाल्छन् । कार्यक्षमतामा ह्रास आउँछ । तनाव अन्य धेरै प्रकारका मनोविकारको जन्मदाता पनि हो । यसले मानिसको शारीरिक तथा मानसिक विकासमा बाधा पु¥याउँछ ।
तनाव बढ्नुको कारण
सामान्यतया पारिवारिक जिम्मेवारी, सम्बन्धमा कटुता, एक्लोपनको महसुस, व्यापार व्यवसायमा असफलता, बढ्दो महत्वाकांक्षा, कामको बोझ, समय व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले तनाव उत्पन्न हुन सक्छ । यस अवस्थामा मस्तिष्कले पूरा आराम नपाई बारम्बार दवावको स्थिति पैदा हुन्छ । यसरी कुनै पनि चीज वा परिस्थिति तनावको कारण बन्न सक्छ । असहज परिस्थिति हुने बित्तिकै शरीरले प्रतिक्रिया दिन थाल्छ । एड्रिनालिन र कोर्टिसोल जस्ता स्ट्रेस हर्मोनहरु निष्काशन हुन थाल्छन् । त्यसको कारणले परिस्थितिसँग जुध या भाग (fight or flight) मुडमा हुन्छ मानिस । जब त्यो असहज परिस्थिति सामान्य हुन्छ, त्यसपछि शरीरको प्रतिक्रिया पनि सामान्य अवस्थामा पुग्छ । तर कहिलेकाही यो क्रिया लामो समयसम्म यथावत रही रहन्छ । त्यसपछि तनाव व्यवस्थापन गर्न निकै कठिन हुन सक्छ । यो स्थितिमा मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ ।
तनावका लक्षणक) मानसिक लक्षण
- निरन्तर चिन्ता लाग्ने
- विचार धेरै आइरहने
- बिर्सने
- अव्यवस्थित
- मन अस्थिर भैरहने
- निर्णय क्षमतामा कमी
- नकारात्मक सोच, निराशाबादी चिन्तन
- मन अशान्त रहने, सानो कुरामा रिस उठ्ने
- अरुदेखि टाढै रहन खोज्ने
ख) शारीरिक लक्षण
- शारीरिक कमजोरी
- टाउको दुख्ने, जिउ दुख्ने, छाती दुख्ने
- पेट गडबड हुने (पाखाला चल्ने, कब्जियत हुने, वाकवाकी लाग्ने)
- मुटुको धडकन बढ्ने
- निद्रा नलाग्ने
- बारबार रुघाखोकी लागिरहने
- यौन दुर्वलता
- मुख सुक्ने, निल्न गारो हुने, कानमा केही बजेजस्तो आवाज आउने, शरीर कि चिसो हुने वा हात खुट्टामा धेरै पसिना आउने, दाँत चपाउने ।
ग) व्यवहारमा आउने परिवर्तन
- खानपानमा परिवर्तन — नखाने या धेरै खाने
- जिम्मेवारीदेखि भाग्ने वा कामपछि सर्ने
- धुम्रपान, मद्यपानको सेवन
- डरले शरीरमा कम्पन आउने, नङ टोक्ने आदि
तनावले ल्याउन सक्ने परिणाम
कुनै तनाव समस्यासँगै हराएर जान्छ । त्यसले कुनै असर पार्दैन तर कुनै तनाव धेरै लामो समयसम्म गहिरो रुपमा मन मस्तिष्कमा जरो गाडेर बस्छ । त्यसले स्वास्थ्यमा नराम्रो असर पार्छ । ती असरहरु यस प्रकारका छन् —
- डिप्रेशन, व्यक्तित्व विकारजस्ता मानसिक समस्या
- हृदयघात, ब्लडप्रेसर बढ्ने, मोटोपनको समस्या
- मासिक धर्मको समस्या (महिलामा)
- यौन समस्या (महिला/पुरुष)
- छालाको समस्या — फोकाहरु आउने, सोरायोसिस, एक्जिमा, कपाल झर्ने
- पेटको समस्या — ग्यास्ट्रिक, अल्सर आदि
तनाव व्यवस्थापन
तनाव जीवनको एक पाटो हो । जीवनको हरेक मोडमा समस्या आउन सक्छ । समस्यासँग तनाव पनि आउँछ । त्यसलाई व्यवस्थापन गर्ने सीप छ भने त्यसले जीवनमा फाइदा नै दिन्छ । त्यसलाई व्यवस्थापन गर्न जानिएन भने लामो समयसम्म जरा गाडेर बस्यो भने धेरै समस्या पैदा गर्छ । यसको समाधानको लागि निम्न उपाय गर्न सकिन्छ:
१. तनावको कारण पहिचान
बिना कारण तनाव आउदैन । त्यसको पछाडि कुनै न कुनै कारण हुन्छ । कारण सानो, ठूलो, सरल, जटिल जस्तो पनि हुन सक्छ । त्यसको असर व्यक्तिको स्वभाव अनुसार फरक पर्छ । स्वभाव निर्माण हुन धेरै तत्वहरुको भूमिका रहेको हुन्छ । त्यसकारण आफूलाई कुन चीज वा कस्तो परिस्थितिले तनाव पैदा गरेको छ, त्यसको पहिचान गर्नु आवश्यक हुन्छ । त्यसपछि मात्र त्यसको निवारणको लागि उपाय खोज्न सकिन्छ ।
२. भोजन
शरीर अनुकुल भोजन गर्नु भनेको शरीर मात्र स्वस्थ राख्नको लागि होइन, यसले मन मस्तिष्कलाई पनि शान्त, स्थिर राख्छ । भनिन्छ नि, “जस्तो आहार त्यस्तै तन, जस्तो तन त्यस्तै मन ।” जङ्कफुड, तारेको खानेकुरा, चकलेट, चिसो पेय पदार्थ जस्ता कुराले तनाव बढाउने काम गर्छन् । त्यसैले सधैँ स्वस्थकर भोजन ग्रहण गर्नु भनेको तनावको औषधी पनि हो । साकाहारी भोजन, फलफूल, सागपात जस्ता खानेकुराले तनाव घटाउन सहयोग गर्छ ।
३. निद्रा
शरीरलाई आराम चाहिन्छ । त्यो आराम निद्राबाट प्राप्त हुन्छ । निद्राको समयमा शरीरका केही अङ्गबाहेक अरु सबै अङ्गहरु आरामको अवस्थामा हुन्छन् र भोलिपल्ट पुनः ताजा हुन्छ हाम्रो शरीर । त्यसैले जवान मान्छेलाई ६—८ घण्टा निदाउनु आवश्यक हुन्छ ।
४. शारीरिक क्रियाकलाप
निष्कृय रहनु शरीरको लागि अति हानिकारक हुन्छ । मानव शरीरको संरचना नै सकृय जीवन शैलीको आधारमा भएको छ । हामी जति सकृय भयौँ, त्यति नै मस्तिष्कबाट विभिन्न रसायनहरु निस्किन थाल्छन् । योगा, व्यायाम, खेलकुद शरीरको क्षमता अनुसार गर्ने गरेमा डोपामाइन, इन्डोरफिनजस्ता खुसी बनाउने रसायनहरु निष्काशन भई तनाव मुक्त स्थितिमा रहन सक्छौँ ।
५. मेडिटेशन
तनावरहित रहनको लागि मेडिटेशन अति नै आवश्यक हुन्छ । मेडिटेशनले मनलाई शान्त, स्थिर रहन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मेडिटेशनको माध्यमद्वारा नकारात्मक विचारप्रति सजग रहन सकिन्छ, जसले गर्दा आफ्नो अवस्थाप्रति जानकार भइन्छ । त्यसपछि आफूले चाहेजस्तो अवस्थातिर आफूलाई मोडन पनि सकिन्छ । मेडिटेशन गर्ने बानीको विकास भएमा जस्तोसुकै समस्यालाई पनि झेल्न सक्ने क्षमताको बृद्धि हुन्छ ।
६. दैनिक रुटिन
अहिलेको मानव समाज निकै जटिल बन्दै गएको छ । प्रतिस्पर्धा र होडबाजीका कारण बढी महत्वाकांक्षी भएको छ मान्छे । यसको लागि धेरै भन्दा धेरै कामको बोझ छ । यस्तो परिस्थितिमा पनि तनावरहित भई आफ्नो काम तथा जिम्मेवारी सहज ढङ्गबाट बहन गर्नको लागि दैनिक रुटिन बनाउने र त्यस अनुसार चल्ने गर्नुपर्छ । यसले जीवन शैली व्यवस्थित बनाउँछ । व्यवस्थित जीवन नै तनावरहित हुन्छ ।
अतः तनाव मुक्त रहनको लागि इन्टरनेटको प्रयोग कम गर्ने, प्रकृतिको निकटमा केही समय बिताउने, सकारात्मक व्यक्तिहरुसँग संगत गर्ने, आफूलाई मर्ने र मनलाई खुसी राख्ने संगीत सुन्ने, खाली समयमा कुनै न कुनै सिर्जनात्मक कार्य गर्ने जस्ता कार्य गरेमा तनावबाट मुक्त रहन सकिन्छ । यदि कुनै कारणले तनावको लेवल बढी सकेको छ, त्यसलाई नियन्त्रण गर्न सकिएन भने तत्काल मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्छ । अन्यथा यसको परिणाम जटिल हुन्छ, त्यो मानसिक वा शारीरिक जुन रुपमा पनि प्रकट हुन सक्छ ।
(नाेट : लेखक द्वय आचार्य र पनेरु मनोसामाजिक परामर्शदाता हुनुहुन्छ।)

No comments:
Post a Comment