आमा! आज तिम्रो यादले,
धेरै सताएको दिन।
सम्झँदै छु म,
मेरो आफ्नै जन्मदिन।
सम्झँदै छु तिम्रो त्यो कालो दिन,
आज तिमी मरेर बाँचेको दिन।
चौथो सन्तान पाउने करमा,
तिमी प्रसब पिडाले छट्पटीएको दिन।
"कस्तो जन्मिएला?"
भन्ने चिन्ता लिएको दिन।
"के जन्मिएला?"
भनेर धेरै सोचेको दिन।
सायद बा'ले मनमा,
"छोरा होस" भनी सम्झिएको दिन।
अनि म तिम्रो,
"छोरी" भएर जन्मिएको दिन।
समाजका मानिसले,
"ए छोरी पो!" भनेको दिन।
अनि तिम्रो मनमा चोट परेको दिन।
सत्य हो कि तिमीले,
करमा पाउनु पर्यो मलाई।
तर मलाई हेरेर तिमी,
मातृप्रेम छल्काएर हाँसेको दिन।
पहिलो चोटि तिम्रो काखमा,
म खेल्न पाएको दिन।
पहिलो चोटि तिमिले मेरो मुखमा,
अमृत पिलाएको दिन।
पहिलो चोटि तिमिले,
छोरी भनी बोलाएको दिन।
तिमिले मेरो गालामा मायाले,
चुम्बन खाएको दिन।
पहिलो सन्तानलाई झैँ मायाले,
तिमीले मलाई अंगालेको दिन।
र आज,
यी तिम्रा ऋणलाई तिर्न धेरै कोसिस गर्दा पनि नसकेर,
ती दिनलाई सम्झिएर म धेरै रोएको दिन।

No comments:
Post a Comment