पाल्पा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालन हुने - pharaksandesh.com

मुख्य समाचार


Saturday, 27 June 2020

पाल्पा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालन हुने

पाल्पा, १३ असार : कोभिड –१९ को जाँच आरटी– पिसिआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ । पाल्पा जिल्ला अस्पतालमा प्रयोगशाला सञ्चालनपछि बाहिरी जिल्लामा कोरोना परीक्षणका लागि धाउनुपर्ने अवस्था हट्ने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । पाल्पा अस्पतालले सङ्घीय सरकारको निर्णयलाई स्वागत गरी असार महिनाको अन्तिम सातादेखि प्रयोगशालाबाट कोरोना परीक्षण गर्ने जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले स्वाब संकलन गरी परीक्षण गर्न पाल्पाबाट प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, हेटौँडाको जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंँको सरुवा रोग अस्पताल र भरतपुर अस्पतालमा पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाल्पा अस्पताललगायत मेची अस्पताल, डडेलधुरा अस्पताल, धौलागिरि अस्पताल, दैलेख अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, सैनिक अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा आरटी–पिसिआर विधिबाट स्वाब परीक्षण हुने सूचना शुक्रबार जारी गरेको थियो । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको बैठकले सरकारी तवरमा थप १० अस्पताललाई कोरोना परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो । सरकारले यसअघि सरकारी तवरबाट २३ प्रयोगशाला सञ्चालनमा ल्याएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.