कर्णालीमा थप तीनवटा पिसिआर मेसिन थपिँदै - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 June 2020

कर्णालीमा थप तीनवटा पिसिआर मेसिन थपिँदै

सुर्खेत, २८ जेठ : प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । 

प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको नारायण नगरपालिकाको सहयोगमा त्यहाँस्थित जिल्ला अस्पतालमा पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको हो । 

कोरोना भाइरस (कोभिड–१९) परीक्षणको भरपर्दो मानिएको पिसिआर प्रविधिको दायरा निकै सुस्त भएपछि प्रदेश सरकारलाई प्रदेशसभाका विधायन तथा प्रदेश मामिला र सामाजिक विकास समितिले तत्काल पिसिआर मेसिनसहितका अत्यावश्यक सामग्री खरिद गर्न निर्देशन दिएका थिए । 

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालाले परीक्षण गर्नुपर्ने स्वाबको चाप थेग्न नसकेपछि मेसिन खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । यसका लागि अस्पतालले तीन दिनअघि टेण्डर आह्वान गरिसकेको छ । “एकैपटक ९६ जनाको परीक्षण गर्न सक्ने मेसिन खरिद गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्र मेसिन जडान हुन्छ, त्यसपछि अहिलेको भन्दा दोब्बर दरमा परीक्षण हुन्छ ।” प्रदेश सरकारले अस्पताललाई मेसिन खरिद गर्न रु ३५ लाख उपलब्ध गराएको छ । 

दैलेखको जिल्ला अस्पतालमा जडान गरिने पिसिआर मेसिनका लागि नारायण नगरपालिकाले मङ्गलबार टेण्डर आह्वान गरेको छ । निर्वाचन क्षेत्र नं १ को पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो मेसिन खरिद गर्न लागिएको हो । त्यस्तै, दुल्लु अस्पताललाई पनि प्रदेश सरकारले मेसिन उपलब्ध गराउने आश्वासन दिएको छ । दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले प्रदेशले पूर्वाधारयुक्त भए पिसिआर मेसिन उपलब्ध गराउन सक्ने आशय व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी १० दिनभित्रै मेसिन जडानका लागि आवश्यक संरचना तयार गर्न समक्ष छौँ, बरु प्रदेशले छिटो मेसिन उपलब्ध गराइदिओस् ।” 

प्रदेशमा सबैभन्दा बढी दैलेखमा सङ्क्रमित छन् भने भारतबाट फर्किनेमा पनि त्यहाँकै सङ्ख्या बढी छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दैलेखका १२ हजार २८५ नागरिक फर्किसकेका छन् । कतिपय अझै फर्किंदै छन् । प्रदेशका १० वटै जिल्लामा ३७ हजार ९४१ नागरिक फर्किसकेका छन् । भारतबाट फर्किनेको तत्काल पिसिआर परीक्षण गर्नुपर्ने भएकाले प्रदेश सरकारलाई मेसिन खरिदको दबाब बढेको हो । 

हाल पिसिआर परीक्षणमा ढिलाइ हुँदा कतिपय स्थानीय तहले आरडिटी परीक्षण गर्दै घर पठाउने गरेका छन् । हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा गरी दुईवटा पिसिआर मेसिन छन् । ती मेसिनबाट दैनिक ३००÷३०० स्वाब परीक्षण हुँदै आएको बताइएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.