प्रथा
मेरै आँसु झरेर
बनेको समुद्रमा नुहाएपछि
तिमीले आफूलाई सुकिलो भन्यौ !
कुर्कुच्चा फुटेर
दुखिरहेको यो पहाड छोडी
आफू भत्कँदै आफैँ बिरानो भयौ !
भुइँकुहिरोको खास्टो ओढेर
यो सिमान्त किनारामा
फेरि पनि आफूले आफैँलाई सम्पन्न ठान्यौ !
यस्तो अचम्मको चित्र
यो देशजस्तो रङ्गीन क्यानभासमा
तिमी बाहेक
अरू कुन चित्रकारले कोर्न सक्छ र ?
जसको कोलाजभित्र
पानीभन्दा माछाहरू सुकिला देखिन्छन् !
जीवनको भीरमा पहिरो खस्दा
बिछोडिएर झरेका
गोधूलि सम्झनाजस्तै विरुहाङहरू
यतिखेर,
सहरको कुन पेटीमा व्यस्त होलान् ?
बरियो मक्किएर
जमिन झरेका आमाका रहरहरू
अव्यक्त पीडाले गलेपछि
नाम्लोका तिखा धारहरूले रेटिएर
अब कहिलेसम्म,
जिन्दगीका भरोसाहरू चुंडाइरहन्छन् ?
हजारौं वर्षदेखि
बगरका ढुङ्गाहरू रोएर
बगिरहेको निलो सुनकोशीमा
म्हेन्दोका कति वैँसहरू बगिसके होलान् ?
सपनाका चुचुराहरूमाथि
लयहीन गीत गाइरहेका सुदामाहरू
सायद कुनै एक दिन
उत्सर्जित धूवाँको तुवाँलोभित्र
अस्पताल साक्षी राखेर
पुनः यही बस्तीमा फर्काइनेछन् !
माटोको आफ्नै सुगन्ध पोखिएर
गोठाल्नीको चुल्ठिबाट
कलिलो घाम उदाएको वनमा
कति छिमल ऐँसेलु पाकिसके होलान् ?
चैत्रको उराँठ गर्मीले पोलेर
कति वनडढेलो सल्किसक्यो होला ?
चिलाउनेका धुसे फूलहरूजस्तै
कति बिसौली मनहरू
बग्रेल्ती बाटामा झरिसके होलान् ?
तर पनि,
जिन्दगीका दुखी बलेसीहरू
किन होला मरुभूमिमात्र झरिरहेछन् ?
नदी वारपार गरेर
थकित् बनेको यो डुङ्गाको ताउमा
अकस्मात् !
ब्ल्याकहोल खस्यो भने
घुमाउने घरको मतानमा बसेर
आजसम्म पनि,
जुल्केनी बेँसीको कुत उठाइरहेको
डिठ्ठाहरूको देशमा
कुन राष्ट्रिय सङ्कटको घोषणा गरिँदो हो ?
र शान्ति क्षेत्र लेखेर
उभिरहेको यो होर्डिङबोर्ड मुन्तिर
कुन रङको इन्द्रेणीले
हामीलाई बाँच्न देऊ भनी लेखिने हो ?
अाँसु नै आँसु जमेर
बनेका यी सदावहार मुहानहरू
अचानक सुके भने
सदियौँदेखि रानीपोखरीमा उभिएर
समयको घण्टी बजाईरहेको
यो बुढो घण्टाघर अब कसरी घुम्दो हो ?

No comments:
Post a Comment