काठमाडाैँ, ११ असार : देशका विभिन्न स्थानमा विहीबार चट्याङ लागेर सात जनाकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
यसैगरी चट्याङमा परेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका-२ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदी छेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका-९, लक्षनपट्टीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिनुभयो ।
त्यसैगरी, राजगढ गाउँपालिका वडा नं. २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको बताइएको छ । चट्याङ लागेर घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले बताइएको छ । बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचार भइरहेको छ ।
यसैबीच, उदयपुरमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको र छ भने अर्का एक व्यक्ति घाइते हुनुभएको छ । बिहान आएको मुसलधारे पानीसँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार चट्याङले लागेर सोही वडाको भातिखर्ककी ३१ वर्षिया अनिता खड्का घाईते घाइते हुनुभएको छ ।
त्यस्तै, मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका-२ स्थित कालापानीका बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो ।

No comments:
Post a Comment