"तेत्रो हजार तलब खान्छे केइ कुरा लेरा'इज भनो भने कैले उसङ्ग पैसा हुदैन, फोन गर भनो भने न कैले मोबाइलमा ब्यालेस हुन्छ। तँ रोजगार भन्दा त म बेरोजगारी सङ्ग हुन्छ अलेली पैसा त"
"सबै पैसा अस्तिनै ल्याएर कता खर्च गरिसकिहोली अनि चुप लागेर बस्छे नि"
आजकल दिनहुँजसो घरमा भेट्ने डाइलग हो यो मेरो। यो मैले मात्र हैन आजकल प्रायजसो संस्थागत विद्यालयमा कार्यरत सबै शिक्षकहरुले भेट्ने भनाइ हो। किन पो नभेट्नु र हामीले एस्तो भनाइ जब कि आफ्नो कामको मुल्य नपाएको छ महिना बढी हुनलागिसक्यो। अलेली जम्मा भको ब्यालेन्स नि अब त सक्केर कसैले ऋण नि नपत्याउने स्थिति आइसक्यो। एक मन त लाग्छ आ छोड्दिन्छु तेस्तो तलब नदिने स्कुलको जागिर। फेरि अर्को मनले सोच्छु मेरो एत्रो महिनाको मेहनत पो हो त। थोडी न मैले समाजसेवा गर्या हो र तेसै बेतलबी निस्किनलाई। कि पहिले राख्दै कुनैपनि विशेष परिस्थिति आइपरेको खण्डमा यहाँहरुले नि:शुल्क यस प्रतिष्ठानलाई सेवा प्रदान गर्नुपर्नेछ भनेर लिखित गराएको भए तेही अनुसारको माइन्ड सेटअप गरिन्थ्योहोला। आजकल म लगायत सबै शिक्षकहरुको मनमा आउने कुरा हो यो। म त एक आम प्रतिनिधि पात्र मात्र हुँ।
***
म बिर्तामोडको एक एकदमै प्रतिष्ठित निजि विद्यालयमा कार्यरत छु तर मैले गत शैक्षिक सत्रकाे पौष महिना देखिको पारिश्रमिक पाएको छैन। स्कुलमा सम्पर्क गर्दा शुरु शुरुमा अहिले लकडाउनमा हामीलाई नै गाह्रो परेको छ एकदुई दिन पर्खिनुस् भन्ने जवाफ आउथ्यो। अहिले त स्कुल प्रशासनले फोन नै नउठाउने, म्यासेजको रिप्लाई नै नगर्ने गरेका छ्न्। भेट्न जाँदा नि पाले अंकल बाहेक कोइ हुन्नन्। एस्तोमा हामीले कसरी जिविकोपार्जन गर्ने? हाम्रो समस्या हेर्नू त कता हो कता अझ बेतलबी बिदा दिएर प्याबसन र एनप्याब्सनले संस्थागत विद्यालयका शिक्षकहरु को हित विपरीत जुन निर्णय गरेकोथ्यो तेस्को असर कुनै पनि मानसिक रोग भन्दा कमको छैन। एस्तो अवस्थामा अनेक तिरको टेन्सनले धेर सोच्दा सोच्दै हामीलाई डिप्रेसन नहोला भन्ने ग्यारेन्टी कस्ले लिने? डिप्रेसन भएमा हाम्रो अहिलेसम्मको तलब दिन स्कुललाई फाइदा होला कि हाम्रो उपचार खर्च उठाउन?
***
शिक्षण पेशामा लागिसकेसी पछाडि फर्केर फेरि अरु पेशा अप्नाउनुपर्छ होला जस्तो कैलेपनी लागेन। याँ भुराहरुलाई पढाएर बसेर प्रगति हुन्न, विदेश गएर आफ्नो भविष्य बना भनेरभन्दा पनि शिक्षक हुनु जस्तो प्रतिष्ठाको कुरा अरु हैन भनेर सान देखाएर बसिएको हो। तर अहिलेको स्थितिमा निजी विद्यालयहरुले शिक्षकहरुलाई जस्तो व्यवहार गरिरहेकाछ्न् त्यो देख्दा आफ्नो निर्णयप्रती पुनर्विचार गर्नुपर्ने हो कि भन्ने स्थितिमा पुगिएको छ। एक त कम पारिश्रमिकको समस्या पहिलै देखिको हो, तेस्माथी अहिले त आफ्नो जागीर नै संकटमा परेको स्थिति छ। अब एस्को वैकल्पिक बाटो रोजौं न त भन्दा अरु बाटो नभएको पनि हैन, बाटो थुप्रै छ्न्। त्यसको पहिलो बाटो हो लोकसेवा पढ्ने र निजामती सेवामा सरकारी जागिर खाने। तर कुरा के भने, जिन्दगीमा कैले रट्ने र घोक्ने टेक्निक नभका, मनमा उत्पन्न भका जति ज्वारभाटा सबै पेपरमा उतारेर आउने हामी जस्ता आलुहरुलाइ लोकसेवाले पत्याएन !
अर्को विकल्पमा एकजना आफ्नै दादाले सुझाउनुभो ल है कान्छी मार्केटिङ गर्नुपर्नेरछ पैसा त कति कति भनेर। एसो सोचेँ ए हो त है साँच्चै भन्दै, तर एस्मा नि कुरो गर्नुपर्दोरछ तालु चिण्डेलाइ काइयो बिकाउने गरिको। समस्या के आयो तेस्मा भन्दा आफुलाइ गफ भनेको मर्दा लाउन नआउने फेरि। त्यो नि फेल खाइयो ! अर्को विकल्प पनि छ शिक्षा सेवा आयोगमा नाम निकालेर सरकारी शिक्षक हुने। आखिर जस्तै परिस्थितिमा पनि एकाउन्टमा महिनै पिच्छे सरकारले तलब त हाल्दिन्छ। तर एस्को त बाटो उहिले साहित्यको भुत चढेर मानविकी पढेर आफै बन्चरो हान्याथ्यो खुट्टामा। नो टिचर लाइसेन्स, नो सरकारी शिक्षक भनेसी घुम्दै फिर्दै रुम्झाटार भर अन्तिम विकल्प तेइ प्राइभेट स्कुलको टिचरमा पुगो कुरो।
***
अहिले आएर मसङ्ग जागीर छैन भनुँ भने कार्यरत पनि हो, छ भनुँ भने न माम छ न त दाम नै। छोड्दिउँ भने तेसै किन छोड्ने र म, नछोडुँ भने के समाएर बस्नु अझै। निल्नु न ओकल्नु भकोछ मेरो प्राइभेट स्कुलको जागिर। भएभरको, टाउको, मन, खुट्टा, अरु शरीरको कताकता बाट निस्केको रिस सबै पोखेर आउँ हुन्छ सधै, तर फेरि आफै सोच्छु- म त क्रोध हटाएर सहनशीलता सिकाउने शिक्षक पो हो त। मैले आफै आन्दोलन गरेँ भने मेरा विद्यार्थीले मबाट के सिक्ने? अनि फेरि आफैं पाइला पछि सार्छु।
***
स्कुल प्रशासनले हामीलाई तलब नदिएर, हाम्रो आफ्नै मेहनतको कमाइ माग्न जाँदा पनि के न गलत काम गरेर शिर निहुर्याउन गए जस्तो बनाए तापनि हामी भनेका ठु~~~~~~~~~~~~~~~~~~~~~ला स्कुलका तुच्छ कामदार मात्र हौं। हामीले यसरी घरीघरी हाम्रो पैसा दे दे भन्दै जाँदा बिचरा संचालक ज्युहरु लाइ कस्तो मानसिक आघात पर्ला ! त्यो बारेमा नि सोचिदिनुपर्छ। कामदारलाई जस्तोसुकै सारो गाह्रो परोस् तर संचालक महोदयहरुको इज्जत र प्रतिष्ठामा आँच आउने काम चै हामीले गर्दिनुभएन। हामी साना, थोरै पारिश्रमिकमा काम गर्ने मान्छेले त कसैको ऋण खाएर नतिर्दा एकदुई दिन लाज हुने हो, अलेलि खट्पट्टि हुने न हो बरु त्यो नि सहिदिउँ तर प्राइभेट स्कुलका ठुलाठालु संचालकज्युहरुलाई लाज पचाएर हिड्न त भरपुर सहयोग गर्नैपर्छ। हामी एकदुई जना शिक्षक मर्दैमा केइ हुन्न, बरु एकछाक पेट भरेर बसौं तर घरीघरी हाम्रो श्रमको मुल्य चुकाइदिनुस् भनेर संचालकज्युहरुको व्यापारमा, नाफामा, पेटमा लात हामी नहानौं ।।।

No comments:
Post a Comment