कविता
हस्पिटलको बेडमा
रात रातभर जाग्राम बस्नु,
डरलाग्दा खतरनाक
सोचाइ मनमा आउनु,
त्यो सोचाइ भन्दा खतरनाक
दुखाइको पीडा सहनु,
त्यो दुखाइ भन्दा खतरनाक
घरको याद सहनु,
दर्दै दर्दले भरिएको मेरो यो छाती
सक्षम थिएन सहनकालागि
फेरि नियति एनेस्थेसियाको डोज लिएर आइपुग्यो,
डाक्टरको मिठो आश्वासनमा चिप्लिएर
म त्यो डोजभित्र हराएँ।
त्यसपछि क्रमशः
म सम्झँदै गएँ...
मेरो घर,
मेरो परिवार,
मेरा आफन्तजन,
मेरा प्रियजन,
यसैगरी सम्झिरहेँ...
एउटा सानो कुकुर
र छतभरि घुमिरहने
प्यारा प्यारा परेवाहरू।
सम्झनाको तरेलीमा
रमाउँदै, रमाउँदै म बगिरहेँ।
उनै,
जिवन र जगत चलायमान राख्ने
एउटा अदृश्य शक्तिको नाममा।
मिठो बोली सहितको हँसिलो मुहार
मेरो बेडछेउमै ठिङ्ग उभिएको मैले देखेँ
र
म भुसुक्कै निदाएँ।
आखिर,
त्यो अदृश्य शक्तिभित्र को थियो-
डाक्टर या देवता ???

No comments:
Post a Comment