कविता
- अम्बिका अर्याल
नारीकाे पहिचान बचाउनुछ आमा
हिजैमात्र लक्ष्मी जन्माएर
तिमी जस्तै जननी बनेँ आमा
असह्य पीडाले छटपटाउँदै
बारम्बार आफ्नै जन्मलाई
अनि तिम्रा आठाैँ पटकसम्मका
यस्तै अनगिन्ती पीडाकाे कल्पनाले रन्थनिएँ
मैले अनेकपटकका पीडामा पुरुषका भूमिका खाेज्न
कुरुवा कक्षमा माेबाइल गेम खेलिरहेका तिम्रा ज्वाइँलाई सम्झे
हरेक पटक आउँदा याे बानीबाट परिचित भएकाले
आजकाे पीडामा त्यही अनुमान गरेँ
अनि
घरैमा बारम्बार प्रसव पीडामा तिमी अतालिंदा
छाेरा जन्मियाे कि भनी चियाे गरिरहने
बाबुकाे ठूलाे पीडालाई सम्झेँ
तिमी भन्थ्याै नि
पाँचौं पटक म जन्मिदा बुबाले
मेराे मुखै नहेरेकाे
मेराे काखमा नर्सले छाेरी थमाएपछि
उनले कसरी हेर्लान् त भन्ने जिज्ञासामा रुमलिएँ
तर आमा तिमीले जस्ताे
बारम्बार छाेराका लागि
म जीवनकाे परीक्षा दिइरहनेछैन
याे मेराे अन्तिम निर्णय भएकाे छ
छाेरी जन्मेपछिकाे
उसलाई ममताले मुसारेर
म पीडामा हर्षले राेएँ आमा मज्जाले
तिमी त मलाई काखमा लिएर
बुबाकाे डरले राेएकी भनेकी हैनाै ?
मैले अर्काे पनि अठाेट गरेँ आमा
महिनाैपिच्छे खतरनाक पीडा सहेर
यसकै लागि नारी बाँचेका हुँदारहेछन् भने
हाम्राे हक किन रहेन बच्चामा ?
यही खाेज्ने ।
तिमीले किन साेचिनाै याे
अपहेलित बाबुकाे पहिचानले
चिनिएकी रहेछु म
तिमीले किन तिम्राे नाम दिइनाै ?
तिमीलाई जन्माउने आमाकाे मर्यादा खै ?
त्यही पीडा पुरुषले भाेगेका भए एउटा कुरा
कति सजिलै उनीहरुका वंशमा लाने हामीलाई
म त उनकाे बिउ रे
तर तिमीलाई समेत
अनि
तिम्री आमा मरेसँगै मरे उनका पहिचान
के नारीकाे वंश हुन्न आमा ?
यिनका भूमिका रहेनछ आमा?
हजुर आमाकाे मृत्युमा
तिम्रा मावलीलाई जुठाे किन लागेन थाहा छ अामा?
तर
मेरी छाेरीले अरूकाे वंश धान्नेछैन आमा
मलाई उनले जे भनून्
समाजसँग याे चुनाैती हाे मेराे
सासू भन्छिन् ससुराकै वंश विस्तार भाे रे
म जस्तै मुहार लिएर जन्मेकी छ
तर
ससुरा जस्तै छ रे म जस्ती छेउछन्द मिल्दैन रे
यसमा उनी एक्लाे तर्क गर्छिन् अरु म जस्तै देख्छन्
कति सजिलै आफ्नाे अस्तित्व मेटाएर
जानीजानी उनीहरूकी मात्र मानाैं म छाेरीलाई
रगतका फाल्सा झर्दैछन्
उभिएर हिँड्न सकेकी छैन
हस्पिटलकाे वेडमा छटपटिएर
यही निधाे गर्दैछु आमा
मैले गलत गरी भन्ने लाग्छ भने
बाटाे देखाउनु
तर नारीकाे अस्तित्व जाेगिओस्
म सन्तान जन्माउने साधन बनेर
जुनीबाट त्यसै नबिलाऊँ
मेरी छाेरीले यही प्रश्नमन अलमलिनु नपराेस्
केवल नारी बनेर साेचून् पुरुषले
अनि गर्न मिल्छ भन्ने लागेछ भने
गरुन् विराेध
तर
जहाँसम्म श्रीमतीका पीडालाई गम्भीर भएर
नियाल्दै छन् भने
बुझ्नेछन् पीडामा भिन्नता अनि
खाेज्नेछन् आफैँ आफ्नी आमाकाे अस्तित्व
याे समाजमा छाेरी जन्माएर
मलाई एउटै त्रास छ आमा
मेरी छाेरी आफ्नै बा र दाजुभाइ अनि
अनेक ब्वाँसाका बाहुमा परेर
तहसनहस हुने त हाेइन?
तिमी मान या नमान
म त केवल
यही प्रणमा छु
मेरै छाेरीले ठूली भएपछि जे गराेस् तर
नारीकाे पहिचान जाेगाउनेछु म
त्यसका लागि आफै बलि चढ्न पछि पर्नेछैन म

No comments:
Post a Comment