-विमला श्रेष्ठ
बाबुको पसिना आमाको गहना
बन्धक राखेर
भविष्यको सपना मनभरि बोक्दै
भर्खर सहर पसेको म र मेरा सपना आज डगमगाएको छ ।
किनकि
कोभिडले विश्वलाई तरङ्गित पारेको छ
आर्थिक मन्दी बढाएको छ
उद्योगधन्दा, विद्यालय, विश्वविद्यालय बन्द भएको छ
मान्छे घररुपी पिजडामा थुनिएको छ ।
ऋण काढेर ल्याएको रुपिया सकिएको छ
चामल र नुनको भाँडा रित्तिएको छ
घरमालिकको कचकचले दिमाग कचल्टिएको छ
रोग, भोग र शोकको त्रासले मन आत्तिएको छ
जनतामाथिको सरकारको उदासिनताले
आक्रोस उब्जिएको छ
मनमा जिन्दगी समाप्त पार्ने भाव सल्बलाएको छ ।
तापनि
बाबुको खुम्चिएको निधार, आमाको चाउरिएको अनुहार
झल्लक्क सम्झिँदा
सन्तानको सफलताको सपनाले पनि आमाबाबुको अनुहार
धपक्क बल्दा
धङ्धङ्गिएको मन, लड्खडिएको पाइलालाई सम्हाल्दै
सब ठिक हुने आशामा
जीवनको गोरेटोमा पाइला अघि बढाउन प्रयासरत छु म
नीलकण्ठ ३, धादिङ

No comments:
Post a Comment