कविता
देशको स्वार्थको निम्ति आफ्नो ज्यान गुमाउँछ
सीमित स्वार्थमा लड्दै शान्तिलाई डगाउँछ
छरेर शान्तिको ज्योति अशान्ति बीज मास्दछ
मेचीकाली नदी माझ सुखको स्वर्ग झार्दछ
बाधाका पहरा फोर्दै छुनेछ शैल टाकुरा
भर्दै छ रंग माटोमा आफ्नै चलाइ पाखुरा
हिमकण झरेदेखिन् आफ्नै हिमाल हाँस्दछ
देशको निम्ति मर्ने जो अमर भइ बाँच्दछ
पासो गाँसेर घाटीमा देह नै दिन्छ वीरले
सहन कसरी सक्छ भेटी सुम्पिन्छ पीरले
निश्चल मनले चोखो दिव्य दर्शन छर्दछ
देशको लागि बाँचेर देशको लागि मर्दछ
माटोको ममता सम्झी लम्कन्छ दूर दृष्टिले
फुटे आपसमा सारा देख्दा अजिब सृष्टिले
दुष्टको जालमा पर्दा अश्रुधारा बगाउँछ
बालेर ज्ञानको दीप राष्ट्रघाती भगाउँछ
कयौं शत्रु यहाँ आई आधा सिमाना मिचेछ नि
पुर्खाको पाइला मेट्दै उँचो शिर थिचेछ नि
कयौं कठिन यात्रामा धेरैचोटि परे पनि
ऊ सुरवीर योद्धा हो झुक्दिन मरे पनि !

No comments:
Post a Comment