भारतीय विदेश सचिव हर्षवर्द्धन काठमाडाैंमा, सीमा विवादबारे छलफल हुने - pharaksandesh.com

मुख्य समाचार


Thursday, 26 November 2020

भारतीय विदेश सचिव हर्षवर्द्धन काठमाडाैंमा, सीमा विवादबारे छलफल हुने


काठमाडौँ, ११ मङ्सिर :
भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत काठमाडाैं आइपुग्नु भएकाे छ। उहाँ बिहीबार विशेष विमानमार्फत काठमाडौँ उत्रनु भएकाे हाे आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्नुहुने छ । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नुहुने जनाइएको छ । भ्रमणकै क्रममा उहाँले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ ।

विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नुहुने छ । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ ।

त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।

विशेषगरी उहाँको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ । आज नै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको बुझिएको छ ।

दुई देशीय सीमा मामिलासहित प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा पनि भारतीय विदेश सचिव श्रृंगलासँग कुराकानी हुने परराष्ट्रसचिव भरतराज पौडेलको भनाई छ । काठमाण्डाैको एक होटलमा द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उहाँले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँ र परराष्टमन्त्री ज्ञवालीबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव श्रृंगला नेपालको भ्रमण सकेर भोलि दिउँसो १ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.