उत्तर अझै माैन छन् : अम्बिका अर्याल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 December 2020

उत्तर अझै माैन छन् : अम्बिका अर्याल

कविता

सानाेमा जति प्रश्न गरे पनि
सानै छे भनेर हाेला
आमा मेरा धेरै प्रश्न नसुनेरै टारिदिनुहुन्थ्याे
फरियाकाे फेराे समातेर करै गरेपछि
सानातिना 
अझ भनाैँ घरभान्सा र खेतीपातीका प्रश्नकाे
माैलिक उत्तर दिनुहुन्थ्याे

अलिक कठिन प्रश्न बाबाका भागमा पर्थे
अनगिन्ती जिज्ञासाले
दिक्क भएर हाे वा
उत्तर नजानेर
धेरै त ठूली भएपछि बुझ्ने भाकामा
पर सारिन्थे

म फेरि ठूलाे हुन हतारिन्थे
प्रश्नका रूप फेरिन्थे
जिज्ञासा मेट्न नसकेर
घर, विद्यालय, छरछिमेक
सबै ठूलाहरू आजित भइसक्थे
तर
मलाई प्रश्नले थकाएन
बरु ओठहरू थाके
आवाज थाके
मन गुनगुनाइरह्याे

दबाउन खाेज्दा थर्थराएका ओठहरू
कति आफैँभित्र मरिच बने
कति चैते हुरी बने
कति त असिना भएर
मनैकाे रापमा पग्लिए

आज ठूली भएपछि पनि
आफैँ नभेटेपछि उत्तरहरू
उहाँहरूकै मुख ताक्दै
साेध्न मन लाग्छ
किन सँधैँ रुनुहुन्छ आमा
माइतीका दैलाे थुनिँदा
किन भकानिनुहुन्छ बुबा
दाजुभाइकाे सम्बन्ध चिसिँदा
गिद्दले सिनाे ताके झैँ आफ्नै आर्जनमा
सन्तानका भाँडभैलाे र लुछाचुँडी देखेर

उहाँहरू झैँ
किन रुन्छ मेराे देश
अवसरकाे भाेक नमेटिँदा
चपेटामा किचिएरै दाउ थाप्ने
आफ्ना विवेक र पाखुरी गुमाएर
मुख बाउँदै मुन्टाे घुमाइरहने
बालकका तमासाले सँधै पिराेलिएर

साेध्न मन लाग्छ अझै उही प्रश्न 
किन लड्छन् कुकुरहरू
एउटै हड्डीमा ?
किन मार्छन् ढाडेहरू
आफ्नै सन्तान ?
किन छाड्छन् सदाका लागि
बचेरा आफू हुर्केकाे गुँड ?
किन अस्ताउँछ सूर्य सँधै
एउटै दिशामा ?
किन ओइलिन्छन् रूखका पातहरू ?
नफक्रँदै झरेका फूलकाे के अर्थ?
नबुझ्ने ज्ञानकाे भाेकमा डुबेर
किन हराउँछन् बुद्धहरू ?

अनगिन्ती प्रश्न उब्जिरहे
तर बढेकाे उमेरले दिएन उत्तर
उमेरले जितेन प्रश्नलाई
अझै बाँकी छन् धेरै जिज्ञासा
भेट्दिन कतै ज्ञान भरिएका प्याला
घाेषित बुज्रुक खाेक्रा लाग्छन्
ती केवल
धागाेमा उन्दै अर्थका सियाे 
उनेर पराय रूवाउने खेल जान्दछन्
अझै बाँकी छ रे 
गम्भीर प्रश्नका उत्तर उनैका-
"आखिर ऊ जन्म्याे किन ?
लान्छ के र जान्छ कहाँ ?"

बाँचेकाे घाेषित भइञ्जेल
ऊ ज्ञानीकाे भ्रामक माला पहिरिन भुल्दैन
खै ! जति खाेजे पनि उनीहरूसँग 
भेटिन कतै मेरा उत्तरहरू
केवल प्रश्नले उल्टाे गिल्ली गर्दैछ
हेरेर उनका मालालाई
तर पनि
मेरा प्रश्नका उत्तर त अझै माैन छन्...
मेरा प्रश्नका उत्तर त अझै माैन छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.